संघीय संसद नेताहरुको कुण्ठा पोख्ने थलो – सांसद दुर्लभ थापा

0

भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको अध्यक्षमा पुनः सचिन्द्र श्रेष्ठ चयन

संघीय संसद नेताहरुको कुण्ठा पोख्ने थलो – सांसद दुर्लभ थापा

भक्तपुर । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधवार आयोजित आठौं साधारणसभा एवम् चौंथो अधिवेशनको उदघाटन सत्रमा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गरेको छ ।  संसदको आफ्नो पहिलो अनुभव सुनाउँदैं संसद देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने भन्दा पनि दलका नेताहरुले एक अर्कालाई छेडछाड गर्ने थलो बनेको बताए ।

“एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ । हामीलाई पाठ पढाउनुहुन्छ । अनी हामीले उनीहरुले भनेका कुरा सुन्ने, थपडी बजाउने संस्थाको नाम प्रतिनिधि सभा रहेछ,” उनले भन्नुभयो । प्रतिनिधि सभा यस्तो संस्था भएपछि कुनै व्यवसायी, आम नागरिकका समस्या समाधान गर्ने, सम्बोधन गर्ने थलो बन्न नसक्ने उनको भनाई थियो ।

दलका नेताहरुको ध्यान सत्तामा मात्र केन्द्रीत हुँदा संसदमा देश, जनता र व्यवसायीहरुका समस्याका बारेमा छलफल हुन नसकेको बताउँदै, “कुनै व्यवसायको, कुनै क्षेत्रको समस्याको बारेमा न त्यहाँ छलफल भयो, न त्यहाँ सम्बोधन भयो, न राष्ट्रको बारेमा त्यहाँ चिन्ता देखियो, मात्र कुर्सी मोह देखियो,” उनले सुनाए ।

कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको दावी गर्दै, हिजो देशले स्थिर सरकार प्राप्त गरेको छ र वर्तमान सरकार पाँच वर्ष टिक्ने बताउँदै उनले भने, “नत्र कसैले तान्ने बित्तिकै कुर्सी खुस्किने अवस्था थियो । त्यसको अन्त्य भएको छ ।”

उनले आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र होइन सबै क्षेत्रमा समस्या रहेको बताए । उनले नेताहरुको घरमा पैसा थुप्रिएको टिप्पणी गर्दै विप्रेषण हुन्डी मार्फत आउने, बढ्दो आयातलगायतले नेपालमा आर्थिक मन्दी आएको जिकिर गरे ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले समाजमा हुने विविध सामाजिक कार्यलाई व्यवस्थित र सुरक्षित गर्न मद्दत गरेको बताउँदैं यदाकदा यो व्यवसायमा पनि विकृति विसंगती देखिएको भन्ने उपभोक्ताहरुको गुनासो बढेकोले व्यवसायीहरुले पनि स्वच्छ, पारदर्शी र सस्तो तथा सरल सहज ढंगले सेवा दिनुपर्नेमा जोड दिए । उनले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहस हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताए ।

अर्का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि व्यवसायमा देखिएका समस्या समाधानमा सोही क्षेत्रका व्यवसायीहरु बढी सक्रिय हुनुपर्ने बताउँदैं व्यवसायीहरु पनि जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको चर्चा गरे ।

संघका अध्यक्ष सचिन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव राजेन्द्र देउजा, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिलगायतले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन कमिटीका संयोजक धर्मरत्न खाईतुका अनुसार संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, सदस्यमा भक्तलाल श्रेष्ठलगायत सर्वसम्मतले चयन भएका छन ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top