पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

0

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

भक्तपुर । भक्तपुरको दरबार क्षेत्रमा रहेको पाँचतले मन्दिर (ङातापोल्हँ) को जगलाई असर पर्ने गरी खन्ने कार्य भइरहेको छ । संरक्षित स्मारक क्षेत्रभित्र त्यसरी खन्दा पुरातत्व विभागबाट स्वीकृति लिनुपर्नेमा त्यो कार्य पनि नभएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भक्तपुर नगरपालिका वडा नं ५, तौमडी क्षेत्रमा पाइपलाइन विस्तार गर्ने क्रममा ऐतिहासिक पाँचतले मन्दिर नै धरापमा पर्ने गरी पाइपलाइनका लागि खोल्सा खनिएको हो । त्यसरी खन्दा मन्दिरको जगका रूपमा रहेको ठूलो ढुङ्गासमेत फुटाउन थालिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईले पाइपलाइन विस्तार गर्ने क्रममा देखिएको ढुङ्गा के हो भन्ने विस्तृत जानकारी केयूकेएललाई नभएको बताए । अब भने केयूकेएलले पुरातत्व र नगरपालिकासँग समन्वय गरेर काम गर्ने उनले बताए ।

उनले भने, “मन्दिरको जग नै हो भने हामीले पाइपलाइनको वैकल्पिक उपाय खोजी गर्छौं । अनुपम सम्पदा नासिने गरी खानेपानीको पाइपलाइन विस्तार हुँदैन ।” भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्राचीन स्मारक संरक्षण ऐनमा पुरातात्त्विक सम्पदा क्षेत्रमा कुनै संरचना बनाउँदा, उत्खनन गर्दा पुरातत्व विभागको पूर्वस्वीकृति लिनुपर्ने उल्लेख भए पनि अहिले भइरहेको पाइपलाइन विस्तारका लागि स्वीकृति लिएको जानकारी आफूलाई नभएको बताइन् ।

स्मारक संरक्षित ऐनबमोजिम संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलका लागि जमिन खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्न, मेलापर्व नाचगान वा सवारीसाधनको पार्किङ वा पोस्टर टाँस्नसमेत पुरातत्व विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

प्रमुख नकर्मीले पुरातात्त्विक सम्पदा वरिपरि उत्खनन गर्दा ठूला ढुङ्गा भेटिन्छन् भने ती ढुङ्गा मन्दिरकै जग हुनसक्ने अनुमान गरिन् । उनले भनिन् “सोमबार दरबार हेरचार कार्यालय, नगरपालिकाका जनप्रतिनिधि र केयूकेएलबीच समन्वय गरेर पाइपलाइन खन्ने कार्य रोक्न निर्देशन दिइनेछ ।”

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले आफू केही दिनदेखि बाहिर रहेकाले विस्तृत जानकारी नभएको र मन्दिरलाई नै अप्ठ्यारो पर्ने गरी पाइपलाइन खन्न नदिने बताए । नेपालको अनुपम सम्पदाको नमुनाका रूपमा रहेको पाँचतले मन्दिर तत्कालीन राजा भूपतिन्द्र मल्लको समयमा विसं १७०१–१७०२ ताका निर्माण भएको हो । १०८ फिट उचाइको पाँच छाना रहेको सिद्धिलक्ष्मीको यो मन्दिर नेपाली शैलीको मन्दिर हो ।

पाँचतले मन्दिर परिसर ठूलो र खुला चोक भएकाले यहाँ अनेक परम्परागत सांस्कृतिक गतिविधिका अतिरिक्त बेलाबेलामा सभा, सम्मेलन, सामाजिक क्रियाकलाप, प्रदर्शनी हुने गरेका छन् । त्यस्तै मन्दिर परिसरमा पर्वजात्रा, धार्मिक क्रियाकलाप, नाचगान डबली, हाटबजारको ठाउँ, सभा, सम्मेलन गर्ने खुला चोकका रूपमा रहेको छ । पाँचतले मन्दिर परिसर भक्तपुरको मात्र नभएर नेपालकै गौरव हो । मन्दिर परिसरले भक्तपुर सहरको सुन्दरतालाई आकर्षक बनाएको छ । मौलिक वास्तुकलाका अतिरिक्त प्रस्तर मूर्तिकलाका दृष्टिले समेत यो अनुपम नमुना मानिएको छ । नगेन्द्र सापकोटाले गोरखापत्रमा लेखेका छन् ।

फोटो लभ्ली प्रकाशको फेसबुक ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top