नगरपरिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक !

0

मध्यपुर थिमि नगरपालिकाका

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका वडा नं ८ बोदेका वडा अध्यक्ष रमेश थापा श्रेष्ठले नगरपालिकाको गत माघ ८ गते सम्पन्न सातौँ नगर परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक भएको भन्दै सार्वजनिक रुपमै आपति जनाएका छन् ।

गत माघ ८ गते बसेको नगर परिषद्पछि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले निर्णयबारे सर्वसाधारणलाई जानकारी दिन भनी नगरपरिषदले गरेका निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए । यो निर्णय सामाजिक सञ्जालमा पनि प्रवक्ता आचार्यले राखेका थिए । 

त्यही सार्वजनिक प्रेस विज्ञप्तिमा परिषद्मा छलफल नै नभएको विषयवस्तु निर्णयका रुपमा आएको वडा अध्यक्ष थापा श्रेष्ठले सार्वजनिक गरेको ध्यानाकर्षणमा जनाइएको छ । नगरपालिकाका प्रवक्ता आचार्यलाई सम्बोधन गरी गरिएको ध्यानाकर्षण एक पृष्ठ लामो छ । त्यसमा मुख्य त तीन वटा बुँदा वडा अध्यक्ष थापा श्रेष्ठले उल्लेख गरेका छन् ।

नगरपरिषद्ले निर्णय गरेको बुँदा नं २ मा मध्यपुर थिमि नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ को दोश्रो संशोधन पारित गरियो भनी उल्लेख भएको ‘तर बैठकमा थुप्रै सुझाव र थप संशोधनको प्रस्ताव पारित भएको र ती उठेका सुझावहरूमध्ये महत्त्वपूर्ण सुझावहरूलाई समेत समेट्ने गरी संशाधेन प्रस्ताव पारित गर्ने निर्णय’ भनी बाहिर आएको जनाइयो ।

नगरपरिषदको प्रस्ताव नं ६ मा भैपरी तथा नगरपालिकाको आर्थिक सहायता तथा औषधि उपचार कार्यविधि २०७९ बमोजिमको खर्च तथा कार्यक्रम एवं नगरपालिकाले तयार गर्ने आयोजना विस्तृत प्रतिवेदन (डिपिआर) तयारी सभाबाट कार्यक्रम नतोकिएका र एकमुष्ट बजेट विनियोजन भएको शीर्षकको कार्यक्रम स्वीकृत गर्ने अधिकार नगर प्रमुखलाई दिने निर्णय गरियो भनी उल्लेख भएकोमा ‘एवं नगरपालिकाले तयार गर्ने आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर तयारी र सभाबाट कार्यक्रम नतोकिएका र एकमुष्ट बजेट विनियोजन भएका शीर्षकको कार्यक्रम भनी’ बैठकमा छलफल नै नभएको वाक्य थप गरी आएको वडा अध्यक्षको ध्यानाकर्षणमा उल्लेख छ ।

‘निर्णय नै नभएको विषयवस्तु निर्णय भन्दै सार्वजनिक हुनुले सुरुदेखि हामीले भन्दै आएको नगरपालिकालाई विधिसम्मत अगाडि बढाउने कुरामा केही ठेस नलागोस्, बैठकको गरिमा एवं निर्णय प्रमाणित गर्नेहरुप्रतिको विश्वसनीयतामा कमी नआओस् र गलत परम्परा नबसून भने हेक्का राख्नु जरुरी भएको भन्दै ध्यानाकर्षण गरेको हुँ’, वडा अध्यक्षद्वारा गरिएको ध्यानाकर्षणमा उल्लेख छ ।

यस अघिको स्थानीय निकायको चुनावमा मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कोतर्फबाट संयुक्त उम्मेदवार बनेका एमालेका मेयर मदन सुन्दर श्रेष्ठ विजयी भएका थिए ।

तर यो पटक एमाले र नेमकिपा छुटाछुटै रुपमा उम्मेदवार हुँदा नेपाली कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठ विजयी भएका थिए । यो पटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच संयुक्त गठबन्धन भएको थियो । यस हिसाबले मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका थिए ।

ध्यानाकर्षण बुझाउने वडा अध्यक्ष थापा श्रेष्ठ भने नेमकिपाकोतर्फबाट उम्मेदवारी दिई विजयी भएका वडा अध्यक्ष हुन् । -नागरिक न्यूजबाट


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top