भक्तपुर । भक्तपुरको गोमारीका रामगोपाल कर्माचार्यद्धारा लिखित “अविश्रान्त स्काउट यात्रा” नामक संस्मरण कृति सार्वजनिक भएको छ । पूर्व प्रधानाध्यापक, शिक्षासेवी, समाजसेवी एवं स्काउटमा जीवन विताएका कर्माचार्यको पुस्तक शनिबार भक्तपुरमा एक कार्यक्रमवीच सार्वजनिक भएको हो ।
नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक, नेपाल स्काउटका पूर्व मुख्य आयुक्त वरिष्ठ स्काउटर रामवदन जोशीलगायतले सामूहिक रुपमा गरेका हुन् । पुस्तक १६० पृष्ठको छ । पुस्तक दुई खण्डमा विभाजित छन् । पहिलो खण्डमा रामगोपालका दृष्टिमा स्काउट र दोश्रोमा स्काउटरहरुका दृष्टिमा रामगोपाल रहेका छन् । पहिलो खण्डमा लेखक कर्माचार्यले स्काउटकाबारेमा लेखेका १५ वटा लेखहरु संकलित छन् । दोश्रो खण्डमा विभिन्न स्काउटरहरुले रामगोपालका बारेमा लेखिएका एकएक गरी १९ वटा लेखहरु समावेश छन् ।
पुस्तकको प्रकाशन कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरले गरेको हो । पुस्तकको सम्पादन जीवननाथ अधिकारी र महेन्द्रगोपाल कर्माचार्यले गरेका छन् । पुस्तक विमोचन कार्यक्रमको सभापतित्व प्रकाशक कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरका अध्यक्ष भक्त राजभण्डारीले गरेका थिए । पुस्तकको मूल्य तीन सय पाँंच रुपैयाँं राखिएको छ ।
कार्यक्रममा नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, पूर्व प्रमुख आयुक्त श्रीराम लामिछाने, पूर्व सहप्रमुख आयुक्त रवीन्द्रप्रसाद पाण्डे, पूर्व अन्तर्राष्टिय आयुक्त रत्नकाजी निरौला, मैया त्वानाबासु, नेपाल स्काउटका वागमती संयोजक शिवराम अर्याल, अनुशीलन नेपालका अध्यक्ष एवं पुस्तक सम्पादकद्धय मध्येका एक जीवनाथ अधिकारी, पुस्तकको प्रकाशक संस्था कमला भक्त प्रतिष्ठानका संस्थापक उपाध्यक्ष कमला राजभण्डारी विशेष अतिथि रहेका थिए । कार्यक्रममा उनीहरुका साथै पुस्तकका लेखक रामगोपाल कर्माचार्य, लेखकका सहोदर भाइ महेन्द्रगोपाल कर्माचार्य, विजय कर्माचार्यलगायतले पुस्तकबारे विविध चर्चा गरेका थिए ।
कार्यक्रममा सुनौलो गैंडा २०८० र एक्जिटो इन्टरनेशनल एक्सिलेन्ट लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२३ सिंगापुरद्धारा सम्मानित भक्त राजभण्डारीलाई कृष्णगंगा परिवारको तर्फबाट बधाईपत्रद्धारा सम्मान गरिएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
