मध्यपुर थिमि । दशैं तथा तिहारको अवसर पारेर मध्यपुर थिमिको शंखधरचोक स्थित बायरिलाँमा दशैं तिहार बजार मेला हुने भएको छ । स्थानीय व्यापार व्यवसाय एवं संस्कृति प्रवर्द्धन गर्न शंखधर मार्ग(बायरिलाँ) टोल सुधार समितिको आयोजनामा बायरिलाँ दशैं तिहार बजार मेला एवं विविध साँस्कृतिक कार्यक्रम – २०८० हुन लागेको गत शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । मेला यही असोज १३ गते शनिबारबाट मंसिर २ गतेसम्म संचालन हुने छ ।
टोल सुधार समितिका अध्यक्ष उमेश श्रेष्ठको सभापतित्वमा भएको सम्मेलनमा मेलासँगै नेवारी खाजा स्टलहरू तथा विविध साँस्कृतिक कार्यक्रमको पनि संचालन हुने समितिका सचिव डा. रामहरि श्रेष्ठले जानकारी दिए ।
कोरोनाका कारण ठप्प रहेको व्यापार व्यवसायलाई पुनः चलायमान बनाउन २०७८ सालमा पहिलो पटक दशै तिहार बजार संचालन गरेको तथा यस बर्ष देशमा आर्थिक मन्दीका कारण सुस्ताएका व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न तथा स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न बजार मेला संचालन गर्न लागेको जानकारी दिए । मेलामा एक हजार भन्दा बढीको सामान खरिदमा एउटा कुपन दिने र समापनको बेला ग्राहकलाई उपहार प्रदान गरिने जानकारी गराए बताए ।
मेलामा किचेन, फेन्सी, मेकअप, ईलेक्ट्रोनिक्स तथा देनिक आवश्यकताका वस्तुहरूको ब्राण्डेड सामानदेखि फुटकर सामानहरू समेत सुपथ मुल्यमा पाउने समितिका सदस्य राजेश श्रेष्ठले जानकारी दिएका थिए ।
भक्तपुरको नवदुर्गा थिमिमा आउदाँ नवदुर्गा गण यही बाटो भएर खोला किनारामा खाना पकाउन जाने भएकोले बाराही जाने बाटो अर्थात बाराही लाँ हुँदै बायरीलाँ भएको मानिन्छ ।
मेलामा विविध स्थानीय साँस्कृतिक प्रदर्शनी समेत हुने समितिका उपाध्यक्ष रोशन बज्राचार्यले जानकारी गराए । सो बजार मेला तथा विविध साँस्कृतिक कार्यक्रमका लागि समितिका संस्थापक अध्यक्ष रत्न तिनसिं श्रेष्ठको संयोजकत्वमा एक आयोजक समिति पनि गठन गरेको सो कार्यक्रममा जानकारी गराएको थियो ।