गाडी कम्पनी र एजेन्टहरुलाई पोस्न ल्याइएको २० वर्षे नीति

0

गाडी कम्पनी र एजेन्टहरुलाई पोस्न ल्याइएको २० वर्षे नीति


काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २० वर्षे गाडी बिस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरुलाई पोस्न ल्याइएको गलत नीति भएको भन्दै त्यसको विरोध गरेका छन् । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको बिहीबार बसेको पहिलो बैठकमा उनले नेपालमा गाडी निर्माण गर्ने कुनै कारखाना र मर्मतका कच्चा पदार्थ समेत उत्पादन नहुने भएकोले २० वर्षे नीति कार्यान्वयन भएमा नेपालका गाडीहरु कौडीको मूल्यमा बेच्नु पर्ने, देशको खरबौं रकम विदेशमा जाने र यसले विदेशी गाडी निर्माता कम्पनी र त्यसका एजेन्टहरुलाई धनी बनाउने बाहेक अरु केही नभएको बताएका छन् । त्यसमा गम्भीर आपत्ति रहेको बताए ।

उनले वर्षको ३ खर्बभन्दा बढी रकम इन्धन खरिदमा विदेशीने तर्फ ध्यानाकर्षण गर्दै विद्युतीय गाडी सञ्चालनमा ध्यान दिन सकेमा वर्षको खरबौं व्यापार घाटा कम गर्न सकिने बताए ।

सडक दुर्घटनाबाट वर्षको हजारौं मानिसले ज्यान गुमाउनुपरेको यथार्थबारे सचेत हुनुपर्ने बताउँदै उनले जथाभावी सडक निर्माण गर्ने ठेकेदारहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेसम्म सडक दुर्घटना कम नहुने विचार व्यक्त गरे । यातायातको राम्रो व्यवस्थाको लागि ठूल्ठूला साझा बसहरु व्यापक रुपमा सञ्चालनमा ल्याउनुपर्ने र त्यसलाई नियमित र व्यवस्थित गर्न सके साना निजी कार र मोटर साइकल सञ्चालनमा उल्लेखनीय ढंगले कमी आउने पनि उनको भनाई थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात ऐन २०७९ लागू भइसकेको अवस्थामा अब उप्रान्त सहरी सार्वजनिक यातायातसँग सम्बन्धित विषयमा राज्यको कुनै पनि निकायले नयाँ निर्णय लिनुअघि परिषद्सँग समन्वय गरेर मात्र गर्न सबैलाई पत्राचार गर्नुपर्ने विचार व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारले सार्वजनिक यातायातको लागि विनियोजन गरेको रकम अब उप्रान्त परिषद्को कोषमा जम्मा गर्न आग्रह गर्ने, बागमती प्रदेश र स्थानीय तहहरुलाई कोषमा योगदान गर्न अनुरोध गर्ने, नेपाल सरकारले बनाउने नियमावलीबारे परिषद्को पनि परामर्श गर्न पत्राचार गर्ने र उपत्यकाको सार्वजनिक यातायातको व्यवस्थापन गर्न प्राविधिक तयारी सहित अकोै बैठकमा पेश गर्ने निर्णय गर्यो ।

साथै बैठकले ऐनको व्यवस्थाअनुसार सदस्यहरुको मनोनयन गर्ने, कार्यालय भवन सञ्चालन कामनपाले भवनको व्यवस्था गर्ने समेत निर्णय गर्यो ।

संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदमा कामनपाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख सदस्य हुने र उपत्यकाका अन्य नपाका प्रमुख वा उपप्रमुख मध्ये तोकिएको सदस्य रहने व्यवस्था छ । प्राधिकरणका काम कारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि गठित परिषदमा सडक विभागका महानिर्देशक, यातायात विभागका महानिर्देशक, बागमती प्रदेशका यातायात हेर्ने सचिवलगायत सदस्य हुने व्यवस्था छ ।

सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ को दफा (५) ले प्राधिकरणको काम सार्वजनिक यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना तयार गर्ने, सार्वजनिक यातायातको व्यवस्थापन गर्ने, एकीकृत यातायातको व्यवस्था गर्ने, नगदविहीन विद्युतीय टिकटका ढाँचा तयार गर्ने, पार्किङको व्यवस्था गर्नेलगायत तोकिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top