फरैनाहरू राजनीतिको अग्रभागमा उभिएर संघर्ष गर्न आवश्यक छ

0

कृृति परिचय

 


                                                                                                          - डा. पुष्पराज पन्त

काठमाडौं, ३० कात्तिक । केही समय अगाडि नेपाल पुगेको अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठसँग भेटघाट भयो । भेटमा उहाँले लेख्नुभएको फरैना उपन्यास प्राप्त भएको थियो । उक्त उपन्यास मैले आफ्नो लण्डन यात्राको हवाई उडानमा पढिसकेँ । उपन्यास पढिसकेपछि फरैनाबारे आफूलाई लागेका केही कुरा संक्षेपमा लेख्दैछु ।

पहिला मैले सन्तोष श्रेष्ठलाई एक सङ्गीतकार र गायकको रूपमा सुन्दै र चिन्दै आएको थिएँ । केही वर्षअघि उहाँले मेरा दुईवटा गीतलाई सङ्गीतबद्ध गर्नुभएको थियोे । विश्वभर कोभिड –१९ को महामारीसँगै धेरै कुरामा परिवर्तन भयो । त्यसयता समयनैं अलि फरक ढङ्गले चल्न थालेको छ भन्दा फरक नपर्ला । त्यस समय मानिसहरूले आफ्नो पेशा र समयसारिणीमा व्यापक परिमार्जन गर्नुपरेको थियो ।

कतिपयको यात्रा स्थगित भयो भने कतिपयलाई महामारीका समयमा आ–आफ्नो स्थायी बसोबासको ठेगानामा फर्केर माता–पिता र परिवारसँगै बस्ने अवसर पनि जुरेको थियो । सन्तोष श्रेष्ठका अनुसार उहाँ त्यस समय लामो अवधिका लागी दाङमै बस्नु भयो र केही सिर्जनशील काम गर्नु पर्छ भन्ने प्रेरणाका साथ यो उपन्यास लेख्नु भएको रहेछ । जुन कुरा उहाँले सार्वजनिक रूपमा भन्नुभएको छ ।

उपन्यासको शुरूवात समग्र जीवनदर्शनबाट गरिए पनि क्रमैसँग अगाडि बढ्दै–बढ्दै दाङ जिल्लाको बबई नदीआसपासको ग्रामीण क्षेत्रमा प्रवेश गर्छ । छिट्टै यसका पात्रहरू उजागर हुँदै–हुँदै कलात्मक ढङ्गले एक किशोरावस्थाकी कमलरीमा केन्द्रित हुन्छ । उपन्यासमा त्यहाँको परिवेशलाइ पूर्ण सौन्दर्यात्मक ढङ्गले सरल भाषामा प्रस्तुत गरिएको छ । उपन्यास पढ्दै जाँदा मनमा एउटा सुन्दर चलचित्र हेर्दाको जस्तै आनन्द आउँछ । अझ त्यहाँ प्रयुक्त गीतहरूले यस आभाषलाई थप सशक्त बनाउँछन् । पात्रहरूको संवादलाई स्थानीय थारू भाषामैं (अनुवादसहित) लेखिएकोले भाषा जीवन्त हुन्छ अनि पात्रहरू पनि जीवन्त हुन्छन् । फरैना उपन्यास पढ्दा पाठकलाई दाङकैं सुगन्ध पनि मिल्छ । आफैँ दाङमा घुमिरहेको आभास हुन्छ । फरैना उपन्यासको कथा हाम्रै समाजको हो । हाम्रै पुस्ताले देखेको, भोगेको कथा हो । म जस्तै सबै पाठकलाई उपन्यासको शुरूदेखि अन्तसम्म धेरै फरैनाहरू बाल्यावस्थाकी फरैना, कमलरी फरैना, लडाकु फरैना, नेता फरैना, र राष्ट्रपति फरैना, पाठकलाई आफैँले देखेझैँ, भेटेझैँ लाग्दो हो, प्रधानमन्त्री फरैनाबाहेक । हाम्रै जीवनकालमा नेपालले फरैना प्रधानमन्त्री पाओस् । किनभने नेपालमा पहिलो महिला प्रधानमन्त्री हुन बाँकीनै छ । त्यो पनि एउटा भूईमान्छे भएको हेर्ने धोको लेखकलाई पनि छ । पात्रलाई एक अवोध, आवाजविहीन, समाजविहीन र राज्यविहीनको अवस्थाबाट राष्ट्रप्रमुखसम्म बनाउँदा उपन्यासकार सन्तोष श्रेष्ठले कृत्रिमताको आभाष हुन दिएका छैनन् । बरू कुनै पनि पात्रमा इच्छाशक्ति भएमा असम्भव केही पनि छैन भन्ने सकारात्मक सन्देश सशक्त तरिकाले दिएका छन् । सङ्गीतमा हर्मोनियम जस्तै लेखनमा कलम बलियोसँग समाएका छन् । यो उपन्यास पढ्दै जाँदा अनुभव गर्न सकिन्छ । इतिहासमा र वर्तमानमा पनि विश्वमा यस्ता थुप्रै फरैनाहरू भेटिन्छन् । नेपाल अझ धेरै फरैनाहरूको आवश्यकता छ । जसरी यस उपन्यासमा फरैना संघर्ष गरेकी छिन् त्यसैगरी सम्पूर्ण फरैनाहरू राजनीतिको अग्रभागमा उभिएर संघर्ष गर्न आवश्यक छ । जीवनमा अनेक संघर्ष पश्चात कुनै व्यक्तिले जब कुनै पेशा वा व्यवसायमा आफ्नो पहिचान बनाइसक्छ त्यसपछि अर्को पहिचान बनाउनु सजिलो हुँदैन । त्यसमा पनि थोरै सङ्गीतकारहरू लेखक हुन्छन् ।
उपन्यासकार त अझ थोरै मात्रै हुन्छन् । उपन्यास जटिल विधा हो । मैले सङ्गीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास पढिसकेपछि आफ्नो कौतुहलता मेटाउन यस विषयमा खोजी गर्दा विश्वमै थोरै सङ्ख्यामा सङ्गीतकारले उपन्यास लेखेको पाएँ । सम्भवतः सङ्गीतकार सन्तोष श्रेष्ठ एशियामा महादेशमा त उपन्यास पनि लेख्ने एक्ला वा पहिलो सङ्गीतकार होलान् कि ?

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top