भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीको बार्षिक साधारणसभा शंखधर पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै बालकुमारी सहकारी समुदाय केन्द्रित रहेर भक्तपुर जिल्लाकै उत्कृष्ठ सहकारी भएको बताए । उनले हाल कतिपय सहकारीहरुमा समस्याहरु देखिइ रहँदा यस सहकारीले सहकारीताको भावना अनुरुप कार्य गरिरहेको बताए । त्यसैगरी उपमेयर विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिमा धेरैजसो सहकारीले राम्रै गरेपनि केही औंलामा गन्न सकिने सहकारीले बदमासी गरेको बताए । तर उनीहरुले बदमासी गरेर सदस्यहरुको पैसा फिर्ता गर्न नसकेपनि जथाभावी जग्गामा लगानी गरेकोमा उनीहरुको जग्गा रोक्का गरेर भएपनि सदस्यहरुको बचत फिर्ता गर्ने नगरपालिका लागेको बताए । नगरमा रहेका सहकारीहरुको उचित नियमनको लागि आफुहरुले सहकारीहरुबीच समन्वय गराउने बताए ।
कार्यक्रममा बालकुमारी साकोसका अध्यक्ष तुईलाल श्रेष्ठले सहकारीको आर्थिक बर्ष ०७९–८० को प्रतिवेदन, भावि कार्यक्रम तथा बजेट प्रस्तुतीकरण र रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी हाल १३ करोड ५० लाख ९६ हजार रहेको छ । त्यसैगरी सहकारीले १ अर्ब ६३ करोड १८ लाख निक्षेप संकलन गरी १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले गत आर्थिक बर्षमा ३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सहकारीको जगेडा कोषमा ८ करोड १७ लाख रुपैयाँ रहेको छ । हाल ५ हजार बढी सदस्य रहेको सहकारीको तरलता ४४ करोड ३४ लाख रहेको छ । संस्थाले आर्थिक बर्ष ०८०÷८१ सम्ममा ६ हजार सदस्य पुर्याउने र १४ करोड ९६ हजार शेयर पुँजी पुर्याउने लक्ष्यसमेत लिएको छ ।
त्यसैगरी कार्यक्रममा यँया पुन्हीको अवसरमा जिब्रो छेडी पशुपति मन्दिर परिक्रमा गरेर साहसिक कार्यसहित संस्कृतिक कार्यलाई निरन्तरता दिने बालकराम श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा कार्यरत कर्मचारीहरुको मनोबल बढाउन उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिएको थियो । संस्थाका अधिकृत बाल कृष्ण श्रेष्ठ तथा जुनियर उपसहायक सुशिला श्रेष्ठलाई यस बर्षको उत्कृष्ट कर्मचारी पुरस्कारबाट नगद सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका सचिब पृथ्वीराम श्रेष्ठले गरेका थिए ।