हराउँदै गएको मौलिक नाम जगेर्नामा मध्यपुर थिमि

0



भक्तपुर । नेपाल मन्दलमा रहेका तीन जिल्लाका नेवाः बस्तीहरुको मौलिक नामहरु हराउँदै र खस करणका कारण लोप हुने अवस्थामा पुगेको छ । ती पुराना नामको खोजी गर्दै पुनः सोही नाम स्थापित गर्ने कार्यमा मध्यपुर थिमि नगरपालिकाले बिज्ञहरुको टोली बनाएर अनुसन्धानको जिम्मा दिइएकोमा मौलिक स्थान–नाम अभिलेखिकरण तथा प्रतिष्ठापन समितिको आयोजनामा टोल बस्तीहरुको मौलिक स्थान–नाम व्यवस्थापन तथा पुनःस्थापना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगरपालिकाको कार्यको सह्राना गर्दै मौलिक नामलाई पुनःस्थापना गर्दा भाषाको शुद्धतामा समेत जोड दिनुपर्ने विज्ञहरुको भनाई रहेको छ । नेपालभाषामा रहेका शब्दहरु खसकरणले मौलिक नामको पहिचान गुम्दै गएको छ ।

कार्यक्रममा प्रा.डा. पुरूषोत्तम लोचन श्रेष्ठले नामसँग पहिचान जोडिएर आउने भएकाले मौलिक नामको खोजी गर्नु र यसलाई नगरपालिकाले नै पुनःस्थापनाको अगुवाई गर्नु आफैंमा अनुसरनीय कार्य भएको बताएका छन् । उनले “नाम हराए पहिचान हराउँछ । त्यसैले नामसँग पहिचान जोडिनु आवश्यक छ । यस्तैखाले स्थान नाम अभिलेखिकरण र प्रतिष्ठापनको पुनर्जागरण अभियान अरू नगरपालिकाले पनि सुरू गर्नु आवश्यक छ,” भने ।

गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, गुप्त, शाक्य, कोली सबैले नेवाः संस्कृतिलाई अंगालेको उल्लेख गर्दै उनले नेवाः र गैर नेवाः नै नहुने बताए । उनले भुपतिन्द्र मल्ल, भक्तपुर शिलालेख सुची, गोपालराज वंशावलीमा थिमि भेगको उल्लेख भएको पाईएको जानकारी दिँदैं थिमिको ऐतिहासिक तथ्य संकलनमा सहयोग गर्न आफू तत्पर रहेको बताए ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्कले नामकै आधारले पहिचान झल्किने भएकोले मौलिक नाम खोज्नु आवश्यक रहेको बताउँदै मौलिक नामसँग वास्तविकता जोडिने भएकाले भविष्यमा इतिहास अध्ययन गर्न समेत सहज बनाउने धारणा राखे । साथै उनले १५ वर्ष अघि तत्कालीन ललितपुर नगरपालिका र कीर्तिपुर तथा व्यक्ति विशेषले मौलिक नामको संरक्षणमा काम गरेको पाईएपनि विस्तृत रुपमा अध्ययन अनुसन्धान गरेर निष्कर्षमा पुर्याएको मध्यपुर थिमि पहिलो भएको बताए ।

नेपालभाषाका अध्येता पौभा सायमि भाषा विज्ञान अनुसार जनजिब्रोमा आएको विषय मौलिकता भएकोले सोही विषयलाई समेट्नुपर्ने बताउँदै उनले थेम्मृङ राख्न भन्दा छिमि राख्नु व्यवहारिक हुने उदाहरण प्रस्तुत गर्दै ८० देखि १०० वर्षमा परिवर्तन आउने भएकोले त्यसलाई स्वीकार्नुपर्ने सुझाव दिएका थिए । उनले मौलिक नामलाई प्रतिष्ठापन गर्ने नामपाटी राख्नु अघि भाषा शुद्धीकरण आवश्यक रहेको र त्यसको लागि सहकार्य गर्न आफू तयार रहेको पनि बताए ।

वरिष्ठ सञ्चारकर्मी पुष्करभक्त माथेमाले भाषा, संस्कृति, लिपि लगायतको पहिचान संकटमा परेको गुनासो गर्नुभन्दा स्थानिय सरकारले सुनिश्चित गरेको अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । मौलिक नाम हराउँदै गएको समस्या ठाउँ विशेषमा सीमित नरहेको बरू देशैभर समस्या रहेको उल्लेख गर्दै ठाउँलाई खसकरण गर्नु नै मुख्य समस्या रहेको बताए ।

“चोमोलोङ्मालाई सगरमाथा गर्नु संकुचित सोचको उपज हो । यस्तै कारणले नेवाः, थारू, किरात, मधेसको पहिचान मेटिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्दा संकीर्ण हुनेभए हामीले सोच्ने कि नसोच्ने ?” उनले भने ।

लिपि अध्येता श्यामसुन्दर राजवंशीले मध्यपुर थिमिको मौलिक नामको खोजीले लिपि अध्ययनमा समेत सहयोग पुग्ने बताउँदै उनले लिच्छविकालदेखि अरू भाषा समुदायको पनि बसोबास भएकोले सोही बमोजिम स्थान नाम आगन्तुक भाषामा भए सोही अनुरुप हुबहु लेख्नु जरूरी रहेको बताए ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको मौलिक पहिचानलाई संरक्षण गर्दै यहाँको एतिहासिक, धार्मिक सम्पदा र जनजीविका, परम्परागत पेशा व्यवसायलाई पयर्टनसँग जोडेर रोजगारी सिर्जना गर्ने र समृद्ध मध्यपुर थिमि निर्माणको लागि यहाँको टोल बस्तीहरुको मौलिक नामको खोजी गरी पुनःस्थापना गर्ने उद्देश्यले समिति नै बनाएर कार्य अगाडि बढाएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले मौलिक नामको पहिचान गर्ने कार्य शुन्यबाट शुरु भएर आजको अवस्थामा आउनु सांस्कृतिक उपलब्धि भएको उल्लेख गर्दै यसबारेमा अझ सिक्ने कार्य बाँकी रहेको बताए ।

कार्यक्रममा समितिका संयोजक ईं. राजेन्द्र श्रेष्ठले प्रस्तुतीकरण मार्फत मौलिक स्थान–नाम अभिलेखिकरण तथा प्रतिष्ठापन सम्बन्धमा समितिले गरेका गतिविधिको जानकारी दिएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top