भक्तपुर । वैशाख १२ गते बिहीबारबाट जिल्लाका महिला उद्यमीहरूलाई लक्षित गरी उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा ई–कमर्स तालिमको शुभारम्भ भएको छ ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकी उद्योग सचिव बिनु बज्राचार्यबाट उद्घाटन भएको कार्यक्रममा बोल्दै यस किसिमको तालिमले महिला उद्यमीहरूको व्यापार व्यवसाय फस्टाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सहभागी उद्यमीहरूलाई तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो व्यवसाय प्रवद्र्धनमा प्रभावकारी रूपमा प्रयोग गर्न पनि आग्रह गरे ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत महिला उद्यमीहरूलाई डिजिटल व्यापारको क्षेत्रमा सक्षम बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको जानकारी दिए । भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले प्रविधिको युगमा ई–कमर्सको ज्ञान अपरिहार्य रहेको बताउँदै तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारमा पनि उतार्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको साना तथा मझौला उद्योग समितिकी सभापति लक्ष्मी खनाल, भक्तपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष विश्वराम दुवाल र कार्यसमिति सदस्य एवं तालिम तथा सीप विकास उपसमिति संयोजक पृथ्वीभक्त प्रजापतिले तालिमले महिला उद्यमीहरूको प्राविधिक दक्षता र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
तालिममा सौरभ चालिसे र रोहण पौडेल प्रशिक्षकको रूपमा रहेका छन्, जसले सहभागीहरूलाई ई–कमर्स सम्बन्धी विभिन्न व्यावहारिक ज्ञान र सीप प्रदान गर्नेछन् । यो तालिम भक्तपुरका महिला उद्यमीहरूलाई डिजिटल बजारमा आफ्नो पहिचान बनाउन र व्यवसाय विस्तार गर्न एक महत्वपूर्ण अवसर हुने विश्वास लिइएको छ ।