भक्तपुर । बागमती प्रदेशमा रहेका १३ जिल्लाका १५ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८२ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ ।
प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल ग¥यो भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो ।
पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा जेठ ९ र १० गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेको कार्यक्रमको प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गरेको थियो । समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफीले सम्मान गरिएको थियो । मेडल र ट्रफी वितरण गदै सूनपा प्रमुख थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताउदै उनले अव को विकासको मेरुदढण्ड युवाहरु भएकोले केवल खेलाडीले गर्न सक्ने र यसका लागि सबैले खेल क्षेत्रको विकासमा जोड दिनु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला गरी २१० खेलाडी सहभागी थिए । सहभागी नगरपालिकाहरूमा मध्यपुरथिमि, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायतका पालिकाहरूको सहभागिता रहकोको थियो ।
प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो । पुरुष तर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिला तर्फ ३५ केजीदेखि ६१ केजीसम्म। साथै महिला–पुरुष व्यक्तिगत काता तथा टिम काता खेलमा पनि प्रतियोगिता आयोजना गरिएको थियो । सम्पूर्ण खेलहरू World Karate Federation -WKF, Asian Karate Federation -AKF र Nepal Karate Federation -NKF को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहेको थियो । सूर्यविनायक नगरपालिकाको अग्रसरता, खेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ ।