काठमाडौं । नेपालभाषाको आधुनिक जगतमा एक महत्वपूर्ण खम्बाको रुपमा रहेका जनकवि दुर्गालाल श्रेष्ठको काब्य तथा गीतहरु अति लोकप्रिय तथा प्रख्यात छ, त्यति नै उनको हस्तलिपि÷ लेखाई पनि मनमोहक तथा सुन्दर रहेको छ । यही कुरालाई उजागर गर्न २०८२ जेठ ९ गते नेपालभाषा मंकाः खलःको भवन, विजेश्वरीमा दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा दुर्गालाल श्रेष्ठको हस्तलिपिको कम्प्युटर फन्ट दुर्गालाल फन्टको सार्वजनिकरण गरिएको छ ।
काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कार्यक्रममा दुर्गालाल श्रेष्ठ फन्ट टाइप गरी सार्वजनिकरण गरेको हो । यसै क्रममा उपप्रमुख डंगोलले दुर्गालाल तथा उनको कविताबारे आफ्नो सारगर्भित मन्तब्य राख्दै आफूले आवश्यक सहयोग गर्ने बचनबद्धतासमेत गरेका छन् । दुर्गालाल साहित्य प्रतिष्ठानका अध्यक्ष मोहन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा फन्टका निर्माता आनन्द महर्जनले फन्टको बिषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सुरुमा प्रतिष्ठानका सदस्य पवित्र कसाःले प्रतिष्ठान तथा दुर्गालाल श्रेष्ठ फन्टका विषयमा प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य पौभाः साय्मिले नेपालभाषा एक सुन्दर, सरल तथा मनमोहक भाषा भएको तथा यसको नमूनाको रुपमा दुर्गालालको काब्यलाई लिन सकिने र उनको काब्य तथा गीत मात्र होइन उनीद्वारा लिखित हस्तलिपि पनि त्यत्तिकै सुन्दर र मनमोहक भएको कुरा राख्दै हामीले पनि यही कुरा सिक्नुपर्ने तथा साहित्य सिर्जना गर्दा शुद्धाशुद्धि तथा सरल साहित्यको सिर्जनामा ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए ।