भक्तपुर । मध्यपुर थिमिमा पहिलो पटक जनस्तरबाट शिक्षासेवी तथा जागरुक युवाहरुको सक्रियतामा स्थापना भएको पहिलो कलेज जनआदर्श क्याम्पसले पहिलो क्याम्पस सभा जेठ १५ गते क्याम्पसकै सभाहलमा सम्पन्न गरेको छ । क्याम्पस स्थापनाको लामो समय पछि भएको उक्त सभाको सभापतित्व शिक्षासेवी तथा क्याम्पस व्यवस्थापन समितिका का.वा. अध्यक्ष गंगादास श्रेष्ठको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रा.डा. दुर्गालाल श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै यो क्याम्पस मध्यपुर थिमिको इज्जत र पहिचानको प्रतिक रहेको विचार व्यक्त गर्दै यसलाई बचाई राख्नु सबैको दायित्व रहेको विचार व्यक्त गरे ।
त्यस्तै त्रि.वि. शिक्षा संकायका पूर्व डीन, प्रा. डा. प्रकाशमान श्रेष्ठले यस क्याम्पस तत्कालीन समयको माग र थिमिको आवश्यकता भएकोले स्थापना भएको बताउँदै बर्तमानमा यस क्षेत्रका +२ अध्यापन गराउने माध्यमिक विद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढ्नु पर्ने जरूरी रहेको तथ्य औँल्याए । कायक्रमको सहजीकरण क्याम्पस प्रमुख दुर्गामोहन श्रेष्ठले गरेको थियो ।
त्यस्तै क्याम्पसको सोही दिन भएको सभाले तारामान जोशीको अध्यक्षता एकजना पछि थप्ने गरी ९ जनाको व्यवस्थापन समिति पनि गठन गरेको छ । जसमा क्रमशः बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र सम्झना श्रेष्ठ सदस्यमा तथा पदेन सदस्यमा मध्यपुर थिमि नगरपालिकाको ४ नं. वडा अध्यक्ष र त्रि.वि. प्रतिनिधि रहने छन् भने सदस्य सचिवमा क्याम्पस प्रमुख दुर्गामाहेन श्रेष्ठ रहेको छ ।