भक्तपुर । नेवाः देय् दबू ख्वप नगर समितिले गणतन्त्र दिवस– २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा गणतन्त्र विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम भक्तपुरको दत्तात्रयस्थित युग विजय पुस्तकालयमा नगर समिति अध्यक्ष कृष्णप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेवाः देय् दबू उपत्यका विशेष समितिका सदस्य कृष्ण प्रजापतिले मानव सभ्यताको विकास र राज्य सञ्चालनका लागि “जमिन र जनसंख्या” मुख्य आधार भएको उल्लेख गरे । उनले नेपालमा गणतन्त्र घोषणा भएको भोलिपल्ट राजाले जनतालाई नमस्कार गरेको दिनले जनतामा गणतन्त्रको आगमनको वास्तविक अनुभूति गराएको बताए । अहिलेको गणतन्त्रलाई जोगाउन विभिन्न संघसंस्था र राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेवाः देय् दबू ख्वप जिल्ला अध्यक्ष नरेश सुवालले इतिहासको स्मरण गर्दै राजाहरूले जनतामाथि गरिरहेको अन्याय र दमनका बारेमा चर्चा गरे । नगर समिति सचिव विश्वराम लागेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र प्रजापति, नेवाः मिसा दबूकी अध्यक्ष सरिता दुवाल, सदस्य अञ्जना सिजख्व लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै गणतन्त्रको महत्व र संरक्षणको आवश्यकता विषयमा आ–आफ्नो धारणा राखेका थिए