काठमाडौं । राजावादीको आन्दोलनको क्रममा गत चैत्र १५ गते तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारद्वारा मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सुरेशकी श्रीमती सुजनी मगियालगायतले रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको भन्दै घटनाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन् ।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमान्को रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको र राज्यबाट आवश्यक छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु र शिघ्र न्यायको माग गर्दछु,’ निवेदनमा भनिएको छ ।
मनव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले निवेदन बुझ्दै उक्त घटना फास्ट ट्रयाकबाट अनुसन्धान हुनुपर्ने कुरालाई गम्भीर रुपमा लिएर आयोगले आवश्यक काम गरेको जानकारी दिइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अबको एक/दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्ने तयारीमा रहेकासमेत जानकारी गराइन् ।
उनले भनिन्,‘यो घटनाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्तासमेत गरिसकेको छौं । एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर ।’
त्यस्तै, उनले यस घटनामा आयोगले बाहिरबाट दुई जना विज्ञसमेत ल्याएर अनुसन्धान गरेको जानकारी दिइन् ।