भक्तपुर । बागमति प्रदेश सरकारले प्रदेशका सबै सरकारी निकायमा खससहित नेपाल भाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्ने धोषणा गरेको दिनलाई भाषा दिवसको रुपमा मनाउन थालिएको हो । यसबर्ष पनि बैशाख २४ गते बागमति प्रदेशका सबै सरकारी कार्यालयमा बिदा दिने घोषणा सहित भाषा दिवस भव्यताका साथ मनाइएको छ ।
सो अवसरमा नेवाः देय् दबू ख्वप नगर समिति र नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति भक्तपुरको संयुक्त आयोजनामा बुधबार भक्तपुर नगरपालिकाको दतात्रय मन्दिर परिसरमा दिप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग जिल्ला अध्यक्ष कान्छा तामाङले विगतमा सरकारी कार्यालयमा नेपाली भाषा बाहेक अन्य भाषा बोल्न नपाइने र नेपाल भाषा तथा तामाङ भाषा प्रयोग गर्दा अपमानित हुनुपर्ने र राज्यले स्थानीय भाषालाई दबाइरहेको अवस्थामा बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषाबाट लेख्न बोल्न पाउने अधिकार कानुनले प्रदान गरिएको बताए ।
त्यस्तै नेवाःदेय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष नरेश सुवालले भाषा नभए जाति नरहने, त्यसैले बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषाको प्रयोग गरी सरकारी कार्यलयमा निवेदन दिन र आफ्नो कुरा राख्न सकिने व्यवस्था गरेको छ । जसको कारण सरकारी कार्यालयमा नेपालभाषा र तामाङ भाषाको अनुवाद गर्न कर्मचारीको व्यवस्था गर्न आग्रह गरे ।
कार्यक्रममा नेवाःदेय् दबू ख्वप नगर समितिका उपाध्यक्ष राम चन्द्र प्रजापति, नेवाः मिसा दबू ख्वप जिल्ला सदस्य सरस्वती प्रजापतिलगायतले भाषा दिवसको अवसरमा शुभकामना सन्देश दिए ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाको इन्द्रयणी मन्दिर परिसरमा नेवा देय् दबू, मध्यपुर नगरसमितिको आयोजनामा दिप प्रज्वलन गरि बागमति प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएको अवसर पारेर भाषा दिवस भव्य रुपमा मनाइएको नेवा देय् दबू मध्यपुर थिमि नगरका अध्यक्ष ज्ञानदेव श्रेष्ठले जानकारी दिए ।