काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ भन्ने मूल नारासहित आयोजित दुईदिने सम्मेलनले सात बुँदे घोषणापत्र जारी गर्दै मातृभाषा पत्रकारितालाई प्रवद्र्धन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार, तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग स्पष्ट आग्रह गरेको छ ।
सम्मेलनमा नेपाल, भारत र बंगलादेशका पत्रकारहरूसहित करिब ५० विदेशी र १०० नेपाली पत्रकारको सहभागिता रहेको थियो । सम्मेलनको आयोजना नेवाः पत्रकार राष्ट्रिय दबूले लिएको थियो भने सार्क जर्नलिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सहआयोजक थिए ।
उद्घाटन र समापन समारोह
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मेलन उद्घाटन गर्दै बहुभाषिक समाजमा मातृभाषा पत्रकारिताले सामाजिक एकता र समावेशीतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले सरकारी सञ्चार माध्यममा मातृभाषाबाट सामग्री प्रसारण भइसकेको उल्लेख गर्दै अब यसलाई अझ संस्थागत र व्यापक बनाउनु पर्ने धारणा राखे । उद्घाटन कार्यक्रम ललितपुरमा भएको थियो ।
सम्मेलनको समापन कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारले विद्यालय तहमा मातृभाषाको पढाइ सुरु गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मातृभाषा संरक्षणप्रति स्थानीय सरकार प्रतिबद्ध रहेको जनाए । समापन भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भएको थियो ।
धर्मादित्यको योगदान र सम्मान
सम्मेलन धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) को स्मृतिमा आयोजना गरिएको थियो, जसले १०१ वर्षअघि नेपाल भाषामा ‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिका प्रकाशन गरी नेपालमा मातृभाषा पत्रकारिताको सुरुआत गरेका थिए । यही योगदानको स्मरण गर्दै पाँच जना वरिष्ठ पत्रकारहरू मल्ल के सुन्दर, गणेश राई, अजितमान तामाङ्ग, लगायतलाई ‘धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो ।
छलफलका एजेन्डा र कार्यपत्र
सम्मेलनमा सात वटा मुख्य एजेन्डामा छलफल भएको थियो, जसमा मातृभाषा पत्रकारिताको अभ्यास, सरकारी संचार माध्यममा मातृभाषाको भूमिका, धर्मादित्यदेखि हालसम्मको विकास यात्रा, बहुल समाजमा पत्रकारिताको योगदान, संस्थागत तथा बजार व्यवस्थासम्बन्धी विषयहरू समेटिएका थिए ।
गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले सरकारी सञ्चार गृहमा मातृभाषा पत्रकारिता अभ्यास सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
घोषणापत्रका मुख्य बुँदाहरू
- सम्मेलन अन्त्यमा जारी ७ बुँदे काठमाडौँ घोषणापत्रमा निम्न मागहरू समेटिएका छन्ः
- धर्मादित्य धर्माचार्यको योगदानलाई कदर गर्दै नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने ।
- मातृभाषा पत्रकारिताका लागि सार्क राष्ट्रहरूको सरकारबाट नीतिगत प्रतिबद्धता, बजेट विनियोजन र संरचनागत समर्थनको माग ।
- आदिवासी समुदायलाई आफ्नै भाषामा सञ्चार गर्नसक्ने वातावरणको सुनिश्चितता ।
- मातृभाषा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम र कार्यक्रमको आयोजना ।
- युनेस्को, संयुक्त राष्ट्रसंघ लगायतका निकायलाई मातृभाषा पत्रकारितालाई आफ्नो विकास एजेन्डामा समावेश गर्न आग्रह ।
- मातृभाषामा सञ्चालित मिडियालाई डिजिटल उपकरण, फन्ट र भाषा प्रविधिमा लगानी गर्न सुझाव ।
- मातृभाषा पत्रकारिता प्रवद्र्धनमा क्रियाशील संघसंस्थाहरूलाई आर्थिक र संरचनात्मक सहयोग ।
घोषणापत्रमा नेपाल, भारत र बंगलादेशका संस्थागत प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । ती हुन नृपेन्द्र लाल श्रेष्ठ अध्यक्ष, नेवा: पत्रकारहरूको लागि राष्ट्रिय मञ्च (नेपाल), राजु लामा अध्यक्ष, सार्क पत्रकार मञ्च (नेपाल), लक्की चौधरी अध्यक्ष, फोनिज (नेपाल), मोहम्मद अब्दुर रहमान महासचिव, सार्क पत्रकार मञ्च (बंगलादेश) र डा. शशिभूषण कुमार अध्यक्ष, सार्क पत्रकार मञ्च, बिहार (भारत)
सम्मेलनले निष्कर्ष — “मातृभाषामा सञ्चालित पत्रकारिता डिजिटल युगमा नबाँच्ने होइन, अझ सशक्त हुँदै फस्टाउनेछ । त्यसका लागि हामी सबैको साझा प्रयास अपरिहार्य छ ।”