भक्तपुर । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले मासिक कार्यतालिका अनुसार वादविवाद तथा हिज्जे प्रतियोगिता आयोजना गरेको छ । विद्यालयको विनायक साहित्यिक क्लबको संयोजनमा र अतिरिक्त क्रियाकलाप समितिको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको प्रमुख आतिथ्यता तथा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको सहभागितामा हिज्जे प्रतियोगिता तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरूबीच “प्रविधिले विद्यार्थीको पढाइमा असर गर्छ” भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता सञ्चालन गरिएको थियो ।
वादविवाद प्रतियोगिताको निर्णायक मण्डलमा विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराई तथा अंग्रेजी शिक्षक कृष्ण पन्थी रहेको थियो । कार्यक्रमको समापनमा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रिन्सिपल प्रजापतिले विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्न यस्ता अतिरिक्त कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भविष्यमा अझ धेरै सिर्जनात्मक अवसरहरू प्रदान गरिने आश्वासन दिए ।
वादविवाद प्रतियोगितामा प्रथमः अमृता गोले (कक्षा १०), द्वितीयः कृषा प्रजापति, तृतीयः तुलज प्रजापति र सान्त्वनाः सुजिना कुम्पाखा भएका थिए । यस कार्यक्रममा विद्यार्थीको प्रस्तुतिले भाषा क्षमता, सोच्ने शैली र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
यस प्रकारका अतिरिक्त क्रियाकलापहरूले विद्यालय शिक्षालाई पाठ्यपुस्तकको सिमितताबाट बाहिर ल्याई व्यवहारिक तथा जीवन उपयोगी बनाउने काम गर्दछ । हिज्जे प्रतियोगिताले भाषाको विकासमा अभ्यस्त गराउँछ भने वादविवादले तार्किक क्षमता र सार्वजनिक स्थलमा बोल्ने सीपको अभिवृद्धि गर्छ । विनायक शिक्षा निकेतनको यस्तो प्रयासले विद्यार्थीमा नेतृत्व, अभिव्यक्ति र प्रतिस्पर्धात्मक सोच विकास गर्ने सम्भावना प्रस्ट देखिन्छ ।