एजेन्सी । इजरायल युद्ध आज पाँचौँ दिनमा प्रवेश गरेको छ र दुबै देश एक–अर्कामाथि मिसाइल तथा ड्रोन आक्रमण गर्दै छन् । यहीबीच, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान खाली गर्न चेतावनी दिएको केही समयपछि चीनले पनि आफ्ना नागरिकहरूलाई तत्काल इजरायल छोड्न आग्रह गरेको छ । यी घटनाक्रमले विश्वस्तरमै तनावको अवस्था सिर्जना गरेको छ र युद्ध झनै भयावह रूप लिने संकेत देखिएको छ ।
इजरायलले २०२५ जुन १३ मा ‘अपरेसन राइजिङ लायन’ नामक कारबाहीमार्फत ईरानका परमाणु तथा सैन्य संरचनाहरूमा आकस्मिक आक्रमण सुरु ग¥यो । यस आक्रमणमा ईरानका उच्च सैन्य कमाण्डर र वैज्ञानिकको मृत्यु भएको दावी गरिएको छ । जवाफस्वरूप ईरानले सयौं मिसाइल र ड्रोनमार्फत इजरायलमा प्रतिकार हमला गरेको छ, जसमा तेल अवीव र हाइफाजस्ता सहरहरूमा ठूलो क्षति भएको छ । ईरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म २२४ जना मारिएका छन्, जसमा अधिकांश सर्वसाधारण छन् । इजरायलमा भने २४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । त्यस्तै यसबीच सोमबार एउटा अचम्मको घटना भएको छ — ईरानको एक समाचार च्यानलमा समाचार वाचन भइरहेका बेला इजरायली मिसाइल सिधै स्टुडियो वरिपरि खसेको देखिएको छ । एक भिडियोमा समाचार वाचकको आवाज काँपिएको सुन्न सकिन्छ, र स्टुडियोमा अफरातफरी मच्चिएको देखिन्छ । यो घटनाले युद्धमा नयाँ र नाटकीय मोड ल्याएको विश्लेषण भइरहेको छ ।
ट्रम्पको चर्को चेतावनी
सोमबार नै ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “ईरानले मेरो प्रस्तावित सम्झौता स्वीकृत गर्नु पर्ने थियो । यो अत्यन्त लज्जास्पद र मानव जीवनको विनाश हो । ईरानले परमाणु हतियार पाउनु हुँदैन भन्ने मैले बारम्बार भनेको छु । सबैले तुरुन्तै तेहरान छोड्नुपर्छ !”
उनले आफू जी ७ समिट छाडेर वासिङ्टन फर्किएको र राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएको पनि जनाएका छन् । ट्रम्पको यस अभिव्यक्तिपछि तेहरानको अवस्थामा परिवर्तन आउन थालेकोे छ । त्यहाँ मानिसहरू शहर छोडेर पलायन हुन थालेका छन् र मुख्य सडक राजमार्गहरूमा गाडीको लामो जाम देखिएका तस्विरहरु सामाजिक सञ्जालमा देखिन थालेको छ । पेट्रोलको अभाव र एटीएमहरू खाली हुन थालेको समाचार पनि सार्वजनिक भएको छ ।
चीनको आधिकारिक सन्देश
त्यस्तै ट्रम्पको चेतावनीपछि चीनले पनि इजरायलमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै इजरायल छोठ्न आग्रह गर्दै वक्तव्य जारी गरेको छ । चिनियाँ दूतावासले सामाजिक सञ्जाल वीच्याटमा प्रकाशित सूचनामा लेखेको छ, “ईरान–इजरायल युद्ध गहिरिँदै गएको छ । नागरिक पूर्वाधारहरू ध्वस्त भइरहेका छन्, मृत्यु र घाइतेको सङ्ख्या बढ्दो छ र सुरक्षा अवस्था अत्यन्त संवेदनशील बन्दै गएको छ ।” दूतावासले आफ्ना नागरिकहरूलाई जोर्डनसँग जोडिएको स्थल सीमा प्रयोग गर्न आग्रह गरेको छ ।
पहिले ट्रम्प र अहिले चीनको यस्तो कडा अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ र यो युद्धमा अमेरिका तथा चीनको सीधा संलग्नताको आशंका पनि बलियो हुँदै गएको छ ।