मुलघरे कान्छा (राजेन खिम्बुले राई)
किरात समाज/समुदायमा मुन्दुम अनुसार सुम्निमा र पारुहाङ लाई सर्बोपरि श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको पाईन्छ। त्यसै गरेर किरात समुदायमा सुम्निमा पारुहाङ लाई साकुदिमा/मामा सुम्निमा र साकुदिवा/पापा पारुहाङ लाई आदिम पुर्खाको रुपमा लिने गरिन्छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती) को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको पाईन्छ। तर आजसम्म किरात समाज/समुदायमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङ सृष्टिकालिन समयमा कस्तो हुनुन्थियो ? होला भनेर मुन्दुमले व्याख्या विश्लेषण गरे अनुसारको बैचारिक रुपमा बहस छलफल गरेर साझा सामुदायिक धारणाको विकास गरेको या कुनै ठोस निर्णय गरेर एउटा निचोडमा पुग्न सकिएको छैन। सुम्निमा-पारुहाङ लाई श्रृष्टिकर्ता र हेन्खामा/धर्ती निनाम्मा/आकाश भनियता पनि सुम्निमा पारुहाङ कुनै पनि आकार प्रकारको नभएको निराकार हुन कि ? जस्ता प्रश्न र तर्कहरु पनि किराती समाज/समुदायमा बिधमान रहेको छ। सुम्निमा पारुहाङ आकार ? सहितको ? मानव पुर्खा थिए या सुम्निमा र पारुहाङ लाई प्रकृतीको रुपमा या सुम्निमा पारुहाङ भनेको चेतनाको तह लाई भनिएको हो ? जस्ता आ आफ्नो बुझाई र तर्कहरुका बिषयमा प्राज्ञिक बहस छलफल गरेर एउटा निचोडमा पुग्न सकिएको छैन।
किरातीहरु प्रकृति पुजक तथा पितृ पुजक भएकोले सुम्निमा पारुहाङ लाईे किरात समाज/समुदायमा आदिम पुर्खा साकुदिमा/मामा सुम्निमा र साकुदिवा/पापा पारुहाङ लाई सृष्टिकर्ताहरुको रुपमा र सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई (निनाम्मा/आकाश)को रुपमा नै बढी व्यवहारिक र बैज्ञानिक देखिन्छ।
नेपाल भारतको सिक्किम दार्जिलिङ भुटान लगायत संसारभरको किरात राई समुदायमा हालसम्म नेपालमा प्रचलित सुम्निमा पारुहाङको स्केच तथा प्रतिमाहरु निर्माण गर्ने गरेको पाईएको छ जुन मुन्दुमले व्याख्या वर्णन गरेको सुम्निमा पारुहाङ भन्दा मुन्दुम विपरित र एकदमै आधुनिक युगको सुम्निमा पारुहाङको स्केच तथा प्रतिमा बनाऊने कामहरु भईरहेको छ।जस्तै किरात समुदायमा सुम्निमा पारुहाङको स्केच फोटो प्रतिमा मुर्तीहरुमा सुम्निमाले सुनचादि शिरफुल लाएको कानमा चेप्टे सुन,पैसाको,हारी माला लाएको,त्यस्तै गुन्यु चोली लाएको आधुनिक युगको सुम्निमा र पारुहाङ लाई दौरा सुरुवाल लाएको कतै धनुकाण बोकेको कतै खुकुरी भिरेको कतै गम्बुट लाएको मुन्दुमी व्याख्या वर्णन बिपरितको आधुनिक युगको पारुहाङको फोटो स्केच तथा प्रतिमाहरु निर्माण गर्ने विकृतीहरु बढिरहेको पाईएको छ। यसरी जुन प्रकारको सुनचांदि गरगहना लाएको खुकुरी भिरेको गम्बुट लाएको मुन्दुमी व्याख्या विपरितको आधुनिक युगको सुम्निमा पारुहाङको फोटो स्केच तथा प्रतिमा निर्माण गर्ने कार्यहरुले मुन्दुमको दार्शनिक पक्ष र मर्म लाई सिधै मार्ने काम भएको छ। त्यसै गरेर मुन्दुममा वर्णित साकुदिवा साकुदिमा आदिम माङ पितृ र हेन्खामा निनान्मा आकाश र धर्ती भनिएको सुम्निमा पारुहाङ हाम्रो आदिम पुर्खा या ईष्ट देऊता या सृष्टिकर्ताहरु नै हो भनेर भावी सन्ततीहरुले अविश्वास पैदा हुने खतरा देखिन्छ।
त्यसरी सृष्टिकर्ता जसले यो सृष्टिको सुरुवात गरे भनेर मानिएको सुम्निमा पारुहाङ लाई सुनचादि गरगहना लाईदिनु आधुनिक युगको गुन्यु चोली दौरा सुरुवाल लाईदिनु धनुकाण र खुकुरी भिराऊनु गम्बुट लाईदिने जस्ता कार्यले मुन्दुमी व्याख्या वर्णन विपरित साथै आधुनिक युगको मानिसहरु जस्ता देखिने भएकोले सुम्निमा पारुहाङ सृष्टिकर्ताको रुपमा या हेन्खामा निनाम्मा हुन भनेर भावी सन्ततीहरुमा अविश्वास पैदा गराऊने खतरा देखिन्छ।सर्वप्रथम त्यसरी सुनचादि पैसाको माला खुकुरी भिरेको धनुकांण बोकेको सुम्निमा पारुहाङ बनाऊनु अघि प्राचीन मानव सभ्यताको विकासको चरणमा सुनचादिको आविस्कार कहिले भयो ? त्यसै गरेर फलामको आविस्कार प्रयोगको सुरुवात कहिले भयो ? भनेर अध्ययन गर्न आवश्यक छ।त्यसै गरेर मानव ईतिहासमा कपडा बुनेर लाऊने प्रचलनको विकास कहिलेबाट सुरुवात भएको हो ? प्राचीन मानव सभ्यताको विकासको क्रममा कति हजार वर्ष पहिला बाट फलामको युग सुरुवात भएको थियो ? भनेर अध्ययन गर्नु पर्ने हुन्छ। के हाम्रा सृष्टिकर्ता सुम्निमा पारुहाङ त्यति आधुनिक हुन त ? भनेर गहिरो रुपमा चिन्तन गर्न आवश्यक छ। यदि सृष्टिकर्ताहरु नै हुन आदिमयुगकै पितृहरु नै हुन भने आदिमयुगको सृष्टिकर्ता या पितृहरु के कस्ता हुन सक्छन ? चिन्तन मनन गर्नुपर्दछ।
हालसम्म बनेका जतिपनि सुम्निमा पारुहाङहरु छन ति सबै कल्पना नै भएपनि त्यसमा मुन्दुमले व्याख्या वर्णन गरेझै सृष्टिकर्ताको रुपमा हेन्खामा निनाम्मा या आदिमयुगको पितृको रुपमा देख्न सकिन्दैन। आजसम्म स्केच र प्रतिमा बनाईएका सुम्निमा पारुहाङको कुनै मुन्दुमी व्याख्या वर्णन गरीएको छैन न ति सुनचादि गरगहना लाएका खुकुरी भिरेका सुम्निमा पारुहाङको कुनै दार्शनिक रुपमा विश्लेषणात्मक या मुन्दुमी सांस्कृतिक वर्णन केहिपनि छैन। हालसम्म बनेका जतिपनि सुम्निमा पारुहाङहरु छन ति सबै हाम्रो सृष्टिकर्ताको नै हुन भनेर विश्वास योग्य छैनन। किरात राई समुदायमा बनाईएको सुम्निमा पारुहाङ लाई फगतमा हाम्रो सुम्निमा पारुहाङ यीनै हुन भनेर फोटो तस्बिर छपाऊने मुर्ती बनाऊने बाहेक त्यसमा न कुनै मुन्दुमी दार्शनिक पक्ष भेटिन्छ न कुनै मुन्दुमी व्याख्या विश्लेषण र सृष्टिकर्ताहरु नै हुन भनेर मान्ने आधार भेटिन्छ। यस्तो कमजोर धरातलमा कुनै दार्शनिक विश्लेषण मुन्दुमी सांस्कृतिक व्याख्या विश्लेषण बिनाको आधुनिक युगको सुनचादि गरगहना लाएको खुकुरी गम्बुट भिरेको सु्मनिमा पारुहाङले हाम्रो मुन्दुम संस्कृति प्रति अविश्वास पैदा गर्ने कार्य गर्दछ। त्यसैले मुन्दुममा सुम्निमा पारुहाङको के कस्तो मुन्दुमी व्याख्या गरीएको छ ? त्यसको दार्शनिक पक्ष केके हुन भनेर गहिरो संगले चिन्तन गरेर सिंगो किरात समुदाय र भावी सन्ततीहरुले विश्वास योग्य सुम्निमा पारुहाङ लाई स्थापित गराऊन सकिएन भने यस्तो कार्यले सिंगो किरात समुदायको अस्तित्व माथी नकारात्मक प्रभाव या क्षती पुग्ने देखिन्छ।
त्यसैले साल्पा सिलिचुङमा स्थापना गरीने सुम्निमा पारुहाङ लाई मुन्दुमले व्याख्या वर्णन गरेझै दार्शनिक रुपमा सुम्निमा पारुहाङ लाई आधा शरीर प्रकृतीको रुपमा हेन्खामा निनाम्मा आकाश र धर्ती अनी आधार शरीर आदिमयुगको माता पिता पितृको रुपमा देखाऊन खोजिएको छ। सुम्निमा पारुहाङ लाई किरात समाज/समुदायमा बाकि दार्शनिक रुपमा भनेको चेतनाको उच्चतम तहको रुपमा मान्ने या आकार या निराकार जस्ता बहस छलफल लाई खुल्ला रुपमा छाडेर सुम्निमा पारुहाङ पितृ र प्रकृति लाई फ्युजन गरि बिम्बात्मक रुपमा आधा शरीर हेन्खामा निनाम्मा प्रकृति र आधा शरीर आदिम माता-पिता पुर्खा पितृको दार्शनिक रुपमा देखाउने प्रयत्न गरिएको छ। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समितीले सञ्चालन गरेको साल्पा सिलिचुङ-सिलिछो परीयोजना अन्तर्गत सुम्निमा पारुहाङको प्रतिमा स्थापना गर्ने भएकोले साल्पा सिलिचुङमा सुम्निमा पारुहाङको प्रतिमा नै मुख्य आकर्षणको केन्द्र भएकोले किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङ दर्शन गर्न जान दर्शनार्थीहरुले सुम्निमा पारुहाङको दर्शन गरेर शिर निहुराई पुजा आजा गर्ने भएकोले सुम्निमा पारुहाङ लाई सामान्य मानिसहरु जस्तो मात्र नभएर आदिमयुगको अलौकिक रुपमा मुन्दुमले व्याख्या विश्लेषण गरेझै मुन्दुमी व्याख्याको आधारमा सुम्निमा पारुहाङको प्रतिमा लाई आधा शरिर हेन्खामा र निनाम्मा र आधा शरीर आदिमयुगको मानवरुपी आदिम पुर्खाहरुको रुपमा देखाईएको छ ।
यस मुन्दुमी व्याख्या वर्णन सहितको सृष्टिकालिन समयको सृष्टिकर्ता सुम्निमा–पारुहाङको मुन्दुमी अवधारणाको स्केच तथा प्रतिमा तैयार गर्नमा किरात समुदायको धेरैजना मुन्दुमीहरु,तायामीहरु,अग्रज पुर्खाहरु नछुङ–माङ्पा बिजुवाहरुको बौद्धिक योगदान रहेको छ। यस स्केच तथा प्रतिमा लाई थप मुन्दुमी आधारमा तैयार गर्नमा किरात समुदायको विद्वान बुद्धिजिबी,संस्कृती तथा मुन्दुम अध्येताहरुको समेत राय सुझाब सल्लाहरु लिएर तैयार गरीएको हो। यस मुन्दुमी व्याख्या वर्णन सहितको सुम्निमा पारुहाङको स्केच तैयार पार्नको लागी दिनरात नभनी मलाई मुख्यतः–बौद्धिक रुपमा सहयोग गर्नुहुने मुन्दुमी/तायामी मुन्दुमविद रण बहादुर बोखिम राई र माङ्पा ढक बहादुर राई लाई बिशेष धन्यवाद प्रकट प्रकट गर्दछौ।यस सुम्निमा पारुहाङको स्केच तैयार गर्नुहुने चित्रकार डि.बि याम्फु र मुर्तीकार भक्तिराम मेवाहाङ राईको कलाको उच्च प्रंशसा गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछौ। यसरी व्याख्या विश्लेषण गरेझै तैयार पारिएको सुम्निमा–पारुहाङको स्केच पनि संसारभरको किरातीहरुको लागी एउटा ऐतिहासिक उपलब्धि हो भन्ने ठानेको छौ।
सुम्निमा पारुहाङको प्रतिमाको मुन्दुमी बर्णनः-
मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= रमारुङ भनेको सारा चराचर प्राणी जगत, हाङ भनेको राजा अर्थात पारुहाङको शाब्दिक अर्थ = यो चराचर प्राणी जगतको पिता,प्राणी जगतको सृष्टिकर्ता÷पिता÷राजा भन्ने अर्थ लाग्ने देखिन्छ। सुम्निमा शब्द सुम्दिमा बाट अप्रभंशित भएको हो भन्ने मान्यता रहेको छ ।सुम्दिमाको शाब्दिक अर्थ सुम÷सुम्मा = न्यानो दिने÷ओथारो बस्नु र दिमा=बोजु÷आदिम माता को रुपमा अर्थ लाग्दछ। सुम्दिमाको शाब्दिक अर्थ न्यानोपन दिने आदिम माता भन्ने अर्थ लाग्ने देखिन्छ।
सुम्निमाको मुन्दुमी वर्णन सहितको सुम्निमाः-
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता सुम्निमा लाई हेन्खामा (धर्ती) को रुपमा देखाऊनका लागी सुम्निमाको आधा शरीर लाई हेन्खामा (धर्ती) र आधा शरीर शरीर मानवरुपी पुर्खाको रुपमा देखाईएको छ।सुम्निमाको शिरमा मुन्दुमी फुल पहेलो आम्लाबुङ (सुनाखरी) फुल (सायाबुङ)को रुपमा रहेको छ।सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) मट्टि माला) लाई पहिर्याईएको छ।सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक(अदुवा रहेको छ।सुम्निमाको कम्मरमुनीको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ र मातृसतात्मकको प्रतिकको रुपमा (तुप्ला) केराको पात समेत देखाईएको छ।सुम्निमाको कम्मरदेखी मुनी आधा शरीर हेन्खामा (धर्ती)मा चोमोलुङ्मा ,साल्पा पोखरी र सिलिचुङ र किरात देश देखाईएको छ।त्यस्तै साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल पहाड खोलानाला,वनजंङ्गल र प्राकृतिक रुपमा पाईने मुन्दुमी वनस्पती र साल्पा क्षेत्रमा प्राकृतिक रुपमा पाईने मुन्दुमी फुल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।
पारुहाङको मुन्दुमी वर्णन सहितको पारुहाङः-
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता पारुहाङ लाई निनाम्मा(आकाश) को रुपमा देखाऊनका लागी पारुहाङको आधा शरीर लाई निनाम्मा आकाशको रुपमा देखाईएको छ। पारुहाङको शिरमा मयुंरको प्वांख,सेतो आम्लाबुङ(सुनापाती)को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहिर्याईएको छ। पारुहाङको गलामा आदिमयुगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना(माला)मट्टिमाला )लाई पहिर्याईएको छ।पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङको (सिखिवा) रहेको छ।पारुहाङको कम्मरदेखी मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ।पारुहाङको कम्मरमुनीको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु ) लाई पारु बसेको स्थानको रुपमा देखाईएको छ। सेची सेन्मी माङ्पाले चिन्ता बस्दा पारु खेल्दा सुप्तुलुङ देखी घुरेन सम्मको,घुरेन देखी आधा बाटो र मृतकको लामतुम ३ तुम लाई नजोडेर पारु बसेको स्थान पारु पुग्नको लागी सेचीसेन्मी माङ्पाहरुले ८ तहसम्मको रेप्कातुङ खेलेर पुगिने भएकोल थान देखीको पारु पुग्नको लागी ८ तहको पारु खेल्ने ८ तुम १) बक्सा छोङ २) चेत्चुरी छोङ ३) नाम्ची छोङ ४) कुयु छोङ ५) बिरावा छोङ ६) साम्सेङवा छोङ ७) सापा छोङ ८) सिङ्लु छोङ लाई ८ तलको आकाश निनाम्माको रुपमा देखाईएको छ। समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।