पोखरा । “पढौं, सिकौं र कमाऔं“ भन्ने मूल नारासहित हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीले यस वर्षदेखि विद्यालय तहमै व्यवहारिक कृषि र साना व्यवसाय सम्बन्धी अभियान सुरु गरेको छ । विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यावसायिक सोच, सीप र आत्मनिर्भरतासम्म पु¥याउने उद्देश्यसहित शुरु गरेको छ ।
यो अभियान कक्षा ११ देखि लागू गरिएको छ, जसअनुसार विद्यार्थीहरूले आफ्नो लगानीमा आधारित साना कृषि तथा व्यवसायिक प्रोजेक्टहरू सञ्चालन गर्दै आएका छन् । बास्मती धान खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण तथा फलफूल व्यवस्थापनजस्ता काममा उनीहरूको सक्रिय सहभागी रहेको छ ।
कार्यक्रम कृषि विज्ञ डा. विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालित छ । यसले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादनदेखि बजार अनुसन्धान र मार्केटिङसम्बन्धी व्यवहारिक ज्ञान सिकाउने लक्ष्य लिएको छ ।
विद्यालय निर्देशक कृष्ण गुरुङका अनुसार, “पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान नै भविष्य निर्माणमा टेवा पु¥याउँछ भन्ने विश्वासका साथ हामीले यो अभियान सुरु गरेका हौं ।” इन्चार्ज एलिना पराजुलीले विद्यार्थीहरूलाई सानैदेखि लगानी गर्ने सोच, आत्मनिर्भर बन्ने प्रवृत्ति विकास गरिनु आवश्यक रहेको बताइन् । “१२ कक्षा सकिँदा उनीहरू केवल रोजगारी खोज्ने हैन, आफैं व्यवसाय गर्न सक्ने अवस्थामा पुग्नेछन्,“ उनको भनाइ छ ।
अनुशासन इन्चार्ज सुरेश लामाका अनुसार, व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूमा देखिएको सकारात्मक परिवर्तन प्रेरणादायी रहेको बताउँछन् ।
कलेजका अध्यक्ष चेतनाथ भण्डारीले अभियानले नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने दिशामा मार्ग प्रशस्त गर्ने धारणा व्यक्त गरे । “यसले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र कार्यकुशलता बढाएको छ,” उनले भने ।
त्यस्तै, स्नातक तहमा पनि विविएस कार्यक्रमअन्तर्गत बैंकिङ तालिम, औद्योगिक अवलोकन भ्रमण (क्ष्लमगकतचष्ब िँष्भमि ख्ष्कष्त) जस्ता व्यावसायिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यही कार्यक्रमहरूको प्रभावले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षामा हिमाल कलेजले दुई पटकसम्म राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याएको वरिष्ठ प्रशासन अधिकृत विनोद गिरीले जानकारी दिए ।
हिमाल कलेजको यो प्रयासले व्यवहारिक शिक्षाको खाँचोलाई उजागर गर्नुका साथै अन्य शिक्षण संस्थाहरूका लागि पनि अनुकरणीय मार्ग देखाएको छ ।