सिन्धुली, मरिण । परम्परागत ज्ञानमा आधारित दुना–टपरी बनाउने १५ दिने विशेष तालिम पाएपछि सिन्धुली मरिणका अपाङ्गता भएका आदिवासी जनजातिहरू उत्साहित भएका छन् । उनीहरूलाई आर्थिक सशक्तिकरण र आत्मनिर्भर जीवनयापनमा यस तालिमले सहयोग पु¥याउने विश्वास लिएको छ ।
नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (निडा) सिन्धुलीले मरिण गाउँपालिका–१, कात्तिकेमा आयोजना गरेको तालिममा २६ जना अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई साल र भोर्ला पातबाट दुना–टपरी बनाउने परम्परागत सीपसँगै आधुनिक उपकरणको प्रयोग बारेमा समेत सिकाइएको थियो ।
परम्परागत सीपको संरक्षण र व्यवसायिक सम्भावना
निडा सिन्धुलीका अध्यक्ष जीवन राना मगरका अनुसार लोपोन्मुख अवस्थामा पुगेको दुना–टपरी बनाउने परम्परागत सीपलाई संरक्षण गर्दै स्थानीय अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । बिवाह, भोज र पूजा–अनुष्ठानजस्ता सांस्कृतिक कार्यमा प्रयोग हुने दुना–टपरी पछिल्लो समय प्लास्टिकको प्रयोग बढेसँगै ओझेलमा परेका छन् ।
तालिममा प्रविधिको प्रयोग
प्रशिक्षक भावना पुलामी मगरका अनुसार तालिममा पात छानेर ग्रेडिङ गर्ने, आकर्षक डिजाइमा ढाल्ने र हाइड्रोलिक मेसिनको प्रयोग गरेर गुणवत्तायुक्त उत्पादन तयार पार्ने सीपमा सहभागीहरूलाई दक्ष बनाइएको हो । उनले दुना–टपरीको बजारमा राम्रो माग रहेको र यसको उत्पादनले होटल तथा रेष्टुरेन्टमा प्लास्टिकको विकल्प दिन सक्ने सम्भावना रहेको औँल्याइन् ।
प्रेरणादायक सहभागिता र प्रतिक्रियाहरू
तालिममा सहभागी विष्णु माया बल तामाङ, जो एक खुट्टाबाट अपाङ्ग हुन, भन्छन्ः “दुना–टपरी पनि विक्री हुन्छ भन्ने थाहा थिएन । अब यो सीपबाट कमाइ गर्न सकिने बाटो खुलेको छ ।” अर्की सहभागी विनिता आले मगरले अपाङ्गता भएकाहरू सिर्जनात्मक काममा सक्षम रहेको प्रमाणित भएको बताइन् ।
स्थानीय सरकारको प्रतिक्रिया र प्रतिबद्धता
मरिण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हिरा बहादुर गुर्मछानले निडाको पहलबाट आफू प्रेरित भएको भन्दै आगामी आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरूका लागि थप कार्यक्रमसहित बजेट ल्याइने प्रतिबद्धता जनाए ।
आदिवासी ज्ञानको सम्मान र संरक्षण आवश्यक
नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेश अध्यक्ष काजीमान थिङले आदिवासी ज्ञानको संरक्षणले आर्थिक र सांस्कृतिक दुवै लाभ पु¥याउने धारणा राखे । त्यस्तै, अधिवक्ता तथा अभियन्ता दिलप्रसाद थापा मगरले जलवायु संकट समाधानमा परम्परागत सीपको आधुनिक प्रविधिसँग संयोजनले प्रभावकारी परिणाम दिन सक्ने धारणा व्यक्त गरे ।
यस तालिमले परम्परागत ज्ञानको पुनरुत्थान र अपाङ्गता भएका आदिवासी समुदायको जीवनस्तर उकास्न सक्ने संकेत देखाएको छ ।