काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातामा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षाको नतिजा अन्तिम चरणको परीक्षणपछि छिट्टै सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
अब प्रश्न उठ्छ– एसईईपछि कसरी अगाडि बढ्ने र के गर्ने ? विशेषगरी सूचना प्रविधि (आईटी) क्षेत्रमा रुचि भएका विद्यार्थीहरूका लागि के–कस्ता अवसर उपलब्ध छन्। त्यस बारेमा केही जानकारी प्राप्त गरौं ।
आईटीको यात्रा कहाबाट सुरु गर्ने ?
विद्यालय तहमा कम्प्युटर विषयको अध्यापन हुने भए पनि एसईईपछि सीटीईभीटी (CTEVT) बाहेक अन्य शैक्षिक निकायले छुट्टै आईटी कोर्स प्रदान गर्दैनन् । यद्यपि, सीटीईभीटीले प्रि–डिप्लोमा (१८ महिने) तहमा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन र सेक्रेटरियल म्यानेजमेन्टजस्ता कोर्स सञ्चालन गरिरहेको छ ।
त्यस्तै, डिप्लोमा तह (३ वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजी (आईटी) पढ्न सकिन्छ । यी कोर्स देशभरका १०० भन्दा बढी शिक्षण संस्थामा उपलब्ध छन् ।
शैक्षिक अध्ययनसँगै व्यावसायिक सीप पनि
आईटीमा करिअर बनाउन चाहने विद्यार्थीहरूका लागि प्राविधिक सीप सिक्न थुप्रै विकल्प छन् । कक्षा ११ पढ्दै गर्दा खाली समय सदुपयोग गरी निम्न सीपहरू सिक्न सकिन्छः
ग्राफिक्स डिजाइन, भिडियो एडिटिङ, फोटोग्राफीः युट्युब, अनलाइन प्लेटफर्म वा इन्स्टिच्युटबाट सिक्न सकिने मल्टिमिडिया सीपहरू ।
प्रोग्रामिङ भाषाः HTML, CSS, Java, C, C++ आदि सिकेर वेबसाइट वा मोबाइल एप निर्माणमा हात हाल्न सकिन्छ ।
डिजिटल मार्केटिङः SEO, SEM, कन्टेन्ट मार्केटिङजस्ता डिजिटल सीपले भविष्यमा अनलाइन व्यवसाय वा जागिरको बाटो खोल्न सक्छ ।
रोबोटिक्स र IOT - Internet of Things : हार्डवेयर मन पराउने विद्यार्थीका लागि रोचक र प्रयोगात्मक क्षेत्र ।
कम्प्युटर हार्डवेयर र रिपेयरिङः ल्यापटप÷कम्प्युटर मर्मत सिकेर आफ्नै सर्भिस स्टार्टअप सुरु गर्न सकिन्छ ।
सुरु गर्न ढिलो नगर्नुहोस्
एसईईपछि नै आईटीमा सीप सिक्न थाल्दा भविष्यमा करिअर बनाउने आधार बलियो बन्छ । आजको युगमा अनलाइन स्रोतहरू (जस्तै युट्युब, कोर्स वेबसाइटहरू) वा नजिकैको प्राविधिक इन्स्टिच्युटमार्फत निःशुल्क वा कम लागतमा धेरै कुरा सिक्न सकिन्छ ।
नेपालमा आईटी क्षेत्र तीव्र रुपमा विस्तार भइरहेको छ । स्थानीय कम्पनीहरूसँगै अन्तर्राष्ट्रिय रोजगारीका अवसर पनि बढ्दो छन् । तसर्थ एसईईपछि समय बर्बाद नगरी, रुचिअनुसार आईटी क्षेत्रको कुनै एउटा साइड छान्नुहोस्, अभ्यास गर्नुहोस्, प्रोजेक्टहरू बनाउनुहोस्, अनि भविष्यको लागि बलियो आधार तयार गर्ने कार्यमा अहिले नै लागौं ।