काठमाडौं । सिकागोस्थित एक अमेरिकी संग्रहालयमा चार वर्षअघि भेटिएको तलेजु भवानीको ऐतिहासिक ‘कण्ठीहार’ (तलेजु हार) नेपाल फर्काउने प्रक्रियामा अमेरिकी गृह मन्त्रालयअन्तर्गतको होमल्यान्ड सेक्युरिटीले नयाँ शर्तसहित चार प्रश्न उठाएको छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)ले तलेजु हारको स्वामित्व, उत्पत्ति, बिक्री प्रक्रिया र नेपाली कानुनी आधारबारे पुरातत्त्व विभागसँग लिखित जवाफ मागेको हो ।
आईसीईका अनुसन्धानकर्ताहरूले गत मंसिर २६ मा काठमाडौं आएर पुरातत्त्व विभागका पदाधिकारीसँग प्रत्यक्ष छलफल गरेका थिए । त्यसपछि चैत ५ र वैशाख १ गते दुईपटक पत्राचार गर्दै औपचारिक रूपमा चार बुँदे जिज्ञासा राखिएको हो ।
आईसीईले भनेको छ, “यदि यो कण्ठीहार मुलचोकबाट चोरेर अमेरिका पुगेको हो भने त्यसको स्पष्ट प्रमाण चाहिन्छ । नेपालका राजपरिवारलाई यस्तो ऐतिहासिक सम्पदा बेच्ने अधिकार छ वा छैन भन्ने समेत प्रस्ट हुनुपर्छ ।”
राजपरिवारसँग सम्बन्धित विषयमा नेपाली कानुनअनुसार बिक्री वा उपहार दिने अधिकार छैन भन्ने प्रमाणसहितको कानुनी प्रतिलिपि पनि माग गरिएको छ । साथै, अमेरिकी कला व्यापारी ब्रुस मिलरसँग हार बिक्री सम्बन्धी प्रमाणहरू पनि आवश्यक पर्ने उल्लेख गरिएको छ ।
यस विषयमा पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले विभागले आवश्यक कागजात, ऐतिहासिक लगत र प्रमाणहरू पठाइसकेको जानकारी दिइन् । तर, राजपरिवारको स्वामित्वको प्रश्नमा भने उत्तर दिनु उपयुक्त नभएको धारणा व्यक्त गरिन् ।
उनले भनिन्, “राज्यको सम्पत्ति कसैले व्यक्तिगत रूपमा उपहार दिएको भए पनि त्यो गैरकानुनी हो । हाम्रो तर्फबाट उत्पत्तिको प्रमाण पर्याप्त छन् । बाँकी कुरा दुई देशबीचको कूटनीतिक संवादमा निर्भर रहन्छ ।”
ऐतिहासिक प्रमाण र विवाद
तलेजु हारको प्रामाणिकता पुष्टि गर्ने प्रमाणस्वरूप हालै १०० वर्ष पुरानो ‘प्रताप मल्ल लगत’ फेला परेको छ । उक्त दस्तावेजमा चाँदीका पातमा सुनका मलम्बा, मोतीको घेरा, अष्टमात्रिका मूर्ति, र ‘राजेन्द्रप्रताप मल्ल’ नाम उल्लेख भएको कण्ठीहारको विवरण छ ।
यही हार २०२६ सालतिर दरबारबाट बनाइएको विशेष समितिले खोज्दा फेला नपरेको विवरण छ । पछि सन् १९७६ मा अमेरिकी दम्पती जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फले अमेरिकी व्यापारी ब्रुस मिलरमार्फत हार खरिद गरेको र सन् २०१० मा सिकागो म्युजियमलाई प्रदान गरेको म्युजियमको कागजातमा उल्लेख छ ।
तर यो हार अमेरिका कसरी पुगेको, कहिले र कति मूल्यमा बिक्री भएको भन्नेबारे म्युजियम वा सम्बन्धित पक्षसँग स्पष्ट विवरण छैन ।
चासो र बहस
२०७८ जेठमा अमेरिकामा रहेकी पत्रकार श्वेताज्ञानु बानियाँले तलेजु हारको तस्वीरसहितको जानकारी सार्वजनिक गरेपछि यो विषय फेरि चर्चामा आएको हो । संयोगवश, सिकागो म्युजियमले एल्सडर्फ दम्पतीले नै दिएको अर्को सम्पदा—चुर्तुमुखी शिवलिंग भने नेपाल फर्काएको थियो । तर तलेजु हारबारे भने म्युजियम मौन छ ।
पुरातत्त्व विभागकी अधिकृत सरिता सुवेदी भन्छिन्, “तथ्य र प्रमाण पुगिसकेका छन् । अहिले आएका केही सतही जिज्ञासालाई लिएर निरन्तर पत्राचार हुँदैछ ।”
सम्पदा संरक्षणकर्मी आलोकसिद्धी तुलाधार भन्छन्, “राजा प्रताप मल्ल र नेपालको नामै उल्लेख भएको ऐतिहासिक कृतिमा अब उत्पत्तिको पुष्टि खोज्नु अनावश्यक छ । बरु परराष्ट्र मन्त्रालय र अमेरिकास्थित नेपाली दूतावासले सक्रियता बढाउनुपर्छ ।”
तलेजु हारको फिर्तीका लागि हाल काठमाडौंमा चलिरहेको अन्तर्राष्ट्रिय सम्पदा पुनस्र्थापना सम्मेलनमा समेत यस विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको छ ।