काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नं. २ द्यःध्वाखास्थित न्याम्हासिमामा रहेको नेपालभाषा एकेदेमीको आयोजना तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा ने.सं. ११४५ नवमी र दशमी (२०८२ असार ६ र ७ गते) शुक्रबार र शनिबार “हाम्रो सम्पदा, हाम्रो साहित्य” कार्यक्रम आयोजना हुने भएको छ ।
नेपालभाषा एकेदेमिका महासचिव महेन्द्र गोपाल कर्माचार्यले जानकारी दिएअनुसार, नवमी (असार ६ गते) शुक्रबार बिहान ७ः३० बजे कीर्तिपुर मूध्वाखामा जम्मा भएर स्वागत कार्यक्रम हुनेछ, बिहान ८ बजे औपचारिक रूपमा सम्पदा अवलोकन र सम्पदाको बारेमा जानकारी संकलन गर्ने यात्रा सुरु गरिनेछ । कार्यक्रमको पहिलो चरण अन्तर्गत चिंलच्व, बाघभैरव, देयपुखू लगायत सम्पदाको अवलोकन गरिनेछ, जसको सहजकर्ताको भूमिका प्रा.डा. बज्रमुनि बज्राचार्यले गर्नेछन् । त्यसपछि विहानको खानापछि दिनको १२ः३० बाट उमामहेश्वर, क्वाःच्व, याकःमिसा, इन्द्रायणी र द्यःध्वाखा लगायत स्थानहरुको अवलोकन गरिनेछ । यो भ्रमणको सहजीकरण संस्कृतिविद् प्रयागमान प्रधानले गर्नेछन् ।
अवलोकन भ्रमणपछिको अनुभव र जानकारी समेटेर त्यसलाई लिपीबद्ध गर्दै साहित्य सिर्जनामा रुपान्तरण गर्नेसमेत सहभागीहरूलाई आयोजकले आग्रह गरेको जनाएको छ । त्यसपछिको असार ७ गते शनिबार, साहित्य सत्र सञ्चालन हुनेछ । सो दिन दिउँसो १ः३० बजे नेपालभाषा एकेदेमि न्याम्हासिमा साहित्य सम्बन्धी कार्यक्रम सुरु हुनेछ । जसमा अघिल्लो दिनको अवलोकन भ्रमण र जानकारी समेटेर तयार पारिएको सामाग्रीलाई साहित्यको रुपमा प्रस्तुती गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमसम्बन्धी थप जानकारी वा सहभागिताका लागि इच्छुकले राजित श्रेष्ठ (९८४१२७४७०९) र शान्तराज शाक्य (९८४११८०९७४) सँग सम्पर्क गर्न सकिनेछ । नेपालभाषा एकेदेमीले यस कार्यक्रमलाई सबैका लागि ऐतिहासिक अनुभव बनाउने अपेक्षा गर्दै सफल बनाउन सबैमा सहभागी हुन आग्रह गरेको छ ।