के विश्व फेरि ’स्क्विड गेम’ को लागि तयार छ ?

0


एजेन्सी । सन् २०२१ को सेप्टेम्बरमा नेटफ्लिक्समा सार्वजनिक भएको बहुचर्चित बच्चाहरुको खलमा आधारित दक्षिण कोरियाली शृंखला स्क्विड गेम ले विश्वभर तहल्का मच्चाएको थियो । बच्चाको खेलजस्तो नाम, अचम्म लाग्दो कथा–वस्तु, मानवीय संवेदनासँग जोडिएको सामाजिक यथार्थ र तनावपूर्ण दृश्यले छोटो समयमा नै ऐतिहासिक सफलता प्राप्त गर्न सफल रह्यो ।

बाल्यकालका सरल खेललाई प्राणघातक प्रतिस्पर्धाका रूपमा रूपान्तरण गरिएको यस शृंखलाले एउटा जटिल प्रश्न उठायो – पैसाका लागि मानिस कहाँसम्म जान सक्छ ? जीवनको मूल्य के हो ? धनीहरूका लागि गरिबको पीडा केवल खेल हो त ? समाजमा यस्तै संवेदनहीनता हाबी छ भने, हामी कसरी बाँच्छौं ?

‘स्क्विड गेम’ एउटा मनोरञ्जन मात्र होइन, समाजको निर्मम सन्दर्भ बोकेको गहिरो थ्रीलर पनि हो । आर्थिक, सामाजिक र राजनीतिक हिसाबले विभाजित दक्षिण कोरियाली समाजको प्रतिनिधि चित्र यो शृंखलामा देखिन्छ ।

अब यस शृंखलाको तेस्रो सिजन आउँदैछ, जसले दर्शकमा चासोको नयाँ लहर ल्याएको छ । दोस्रो सिजन जति सफल भयो, त्यसले तेस्रो सिजनप्रति आशा र जिज्ञासा झन् बढाएको छ । मुख्य पात्र गी–हुनको अधुरो यात्रा, उसले चालेका कदम, र उसको अन्तिम निर्णयको प्रतिक्षामा संसारभरका दर्शक रहेका छन् ।

नेटफ्लिक्समा पहिलो सिजन २६५ मिलियन पटकभन्दा बढी हेरिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हेर्ने सिजन बन्न पुग्यो । दोस्रो सिजन पनि प्रिमियर भएको चार दिनभित्रै ६८ मिलियन पटक हेरियो, र केही सातामै १५२.५ मिलियन पटकसम्म पुगेको तथ्यांकले यसको लोकप्रियता अझै झन प्रष्ट पार्छ ।

पहिलो सिजनमा गहिरो ऋणमा फसेका ४५६ जना व्यक्तिलाई पैसाको लोभमा एक खतरनाक खेलमा सहभागी गराइन्छ, जसमा हारको अर्थ मृत्यु हुन्छ । बाल्यकालका खेलमा लुकेको जोखिम र त्राससँगै शृंखलाले सामाजिक असमानता, गरिबी र मानवीय मूल्यका विषय उठाउँछ ।

मुख्य पात्र गी–हुनले पहिलो सिजनको अन्त्यमा खेल जिते पनि, त्यसबाट जितेकोे पैसा उनले आफ्नो आत्मीयतामाथि गरेका सम्झौताहरू र साथीहरूको मृत्युको मूल्यमा प्राप्त गर्छन् । दोस्रो सिजनमा उनी फेरि खेलमा फर्कन्छन्, तर यसपटक उद्देश्य फरक छ– सँधैको लागि खेल अन्त्य ।

‘फ्रन्ट म्यान’ को नेतृत्वमा रहेको रहस्यमय संस्था र त्यसको पछाडि रहेका धनी ‘भीआईपी’ हरूलाई चुनौती दिन गी–हुन तयार हुन्छन् । यस क्रममा शृंखलाले अझ गहिरो राजनीतिक र आर्थिक प्रश्नहरू उठाउँछ – कसरी मानिसको जीवन र पीडालाई मनोरञ्जनमा रूपान्तरण गरिन्छ ?

तेस्रो सिजन ‘स्क्विड गेम’ को अन्तिम अध्याय हुने अपेक्षा गरिएको छ । गी–हुनको अन्तिम विद्रोह, व्यवस्थाविरुद्धको लडाइँ, र सम्भावित विजय या हार– यी सबै घटनाले दर्शकलाई झन् थप उत्कण्ठित बनाएको छ ।

शृंखलाको लोकप्रियताले कोरियाली विषयवस्तुलाई विश्व बजारमा पु¥याउने ढोका खोलिदिएको छ । यसको प्रभाव स्वरूप नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्लाटफर्महरूले दक्षिण कोरियाली तथा भारतीय सामग्रीमा अर्बौं डलर लगानी गरिरहेका छन् । ‘स्क्विड गेम’ले सिद्ध ग¥यो कि बलियो कथा, मौलिकता र सामाजिक सन्देश समेटिएको कन्टेन्ट भाषाको सीमाभन्दा पर जान सक्छ ।

नेपाली दर्शकहरू पनि यस शृंखलासँग भावनात्मक रूपमा जोडिएका छन् । नेपाली, हिन्दी, स्पेनी लगायत थुप्रै भाषामा अनुवाद भएपछि यो शृंखला नेपालमै पनि अत्यन्त लोकप्रिय बन्यो । विशेषगरी के–पप र कोरियन ड्रामासँग जुडिएको नेपाली युवापुस्ताले ‘स्क्विड गेम’लाई केवल एक श्रृंखला होइन, एक भावना मानेका छन् ।

अब प्रश्न उठ्छ– गी–हुनले व्यवस्थालाई ध्वस्त पार्न सक्लान ? नयाँ पात्रहरू कसरी जोडिएलान ? के खेल सधैंका लागि बन्द हुनेछ, या अझ क्रूर संस्करण आउनेछ ?

यी प्रश्नहरूको जवाफ सिजन ३ ले दिनेछ । तबसम्म, यो भन्न सकिन्छ – ‘स्क्विड गेम’ फेरि एकपटक विश्वलाई चकित पार्न तयार छ । के तपाईं पनि ‘स्क्विड गेम’ खेल्न तयार हुनुहुन्छ ?


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top