भक्तपुर । मस्तिष्क पक्षघातका कारण दुवै हात नचल्ने अवस्थामा रहेकी भक्तपुर नगरपालिका–३ तेखापुखू निवासी प्रिता बल्लले खुट्टाको सहायताबाट लेखेकी पुस्तक ‘अविचलित पाइला’ को सार्वजनिक विमोचन सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज भक्तपुरमा आयोजित विशेष समारोहका बीच उक्त पुस्तक लोकार्पण गरेका छन् ।
अनुशीलन नेपालको २० औँ प्रकाशनका रूपमा प्रकाशित यो कृति दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा प्रिताका जीवन अनुभव, भ्रमण संस्मरण, सामाजिक–सांस्कृतिक टिप्पणीसहितका ९३ वटा रचना छन् भने दोस्रो खण्डमा विभिन्न लेखक तथा आफन्तले प्रिताबारे लेखेका १५ वटा लेख समावेश छन् । २४२ पृष्ठको पुस्तक मोबाइलमा खुट्टाको सहायताले टाइप गरेर तयार पारिएको हो, जसलाई जीवनाथ अधिकारीले सम्पादन गरेको छ ।
प्रमुख अतिथि मन्त्री पाण्डेले मन्तव्य दिँदै भने, “शारीरिक अपाङ्गता कमजोरी होइन । प्रिताको कृतिले बौद्धिक सबलता र दृढ इच्छाशक्तिले कुनै पनि कठिनाइलाई जित्न सकिन्छ भन्ने सन्देश दिएको छ ।” उनले प्रितालाई पर्यटन मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी दिने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा संघीय सांसद दुर्लभ थापा, सम्पादक जीवनाथ अधिकारी, शिक्षाविद् प्रकाशकुमार श्रेष्ठ, रामगोपाल कर्माचार्य, भक्तराज भण्डारी, नारायणप्रसाद झा र रामेश्वर वाग्लेलगायत वक्ताहरूले प्रिताको लेखन, धैर्य र आत्मबलको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रमका क्रममा सन्दीप बल्लले लेखकको जीवनी तथा संघर्षको बारेमा जानकारी गराएको थियो भने ध्रुवप्रसाद बल्लले स्वागत मन्तव्य दिएको थियो ।
‘अविचलित पाइला’ को प्रकाशन व्यवस्थापन २०४१ परवेशिका समूह, श्री पद्म माध्यमिक विद्यालय, भक्तपुरले गरेको हो । सभाको अध्यक्षता लेखककी पिता पवन बल्लले गरेको थियो भने सञ्चालन निष्ठा बल्लले गरेको थियो ।
यो प्रेरणादायी कृति प्रिताको जीवन संघर्ष, पर्यटन अनुभव तथा सांस्कृतिक धरोहरप्रतिको प्रेमको दस्तावेज हो, जुन भविष्यमा अझ व्यापक प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।