विनायक ई–स्कुलमा धान रोपाई कार्यक्रम सम्पन्न

0

मध्यपुर थिमि । कृषिमा आधारित सिकाइमार्फत बालबालिकालाई जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले विनायक शिक्षा निकेतन ई–स्कुलले असार ५ गते विशेष रोपाई कार्यक्रम सम्पन्न गरेको छ । पूर्वप्राथमिक तहका शिक्षकहरूको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा १ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई नेपालको कृषि प्रणालीबारे प्रारम्भिक उमेरमै व्यवहारिक ज्ञान दिनु रहेको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी दिएको थियो । उनका अनुसार विद्यार्थीहरूले माटो तयार गर्ने, धान रोप्ने, गोडमेल गर्ने र धान पाकेपछि काट्ने तथा थन्क्याउने प्रक्रिया प्रत्यक्ष रूपमा अवलोकन र अभ्यास गर्न सकून् भन्ने सोचसहित विद्यालय परिसरमै धान रोपाई गरिएको हो ।

विद्यालयले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि रोपिएको धान पाकेपछि विद्यार्थीहरूले आफैंले काट्ने, झार्ने र थन्क्याउने अभ्यास गर्ने परम्परा कायम राख्ने जनाएको छ । पूर्वप्राथमिक तहका शिक्षकहरूले यस कार्यक्रममार्फत विद्यार्थीहरूमा कृषि कर्मप्रतिको समझ र सम्मान बढाउने अपेक्षा राखिएको बताए ।




साथै यो पनि........ 

स्वरोजगार तालिममा अनियमितता, बजेट खर्चमै सीमित

प्रदेश सरकार तथा स्थानीय सरकारको लागत सहयोगमा विभिन्न संघ संस्था र समूहहरबाट पालिका भित्र रहका आम जनसमुदायहरुको आर्थिक विकासको लागि स्वरोजगार र सीप विकासको कार्यक्रम संचालन हुँदै आइरहेको छ । ती विभिन्न नाममा सञ्चालन गर्दै आएका तालिमहरू प्रभावकारी बन्न नसकेको देखिए पनि पालिकाको आर्थिक लगानीमा सञ्चालित स्वरोजगारमूलक तालिमहरूलाई निरन्तरता दिने गरिएकोछ । तर यस प्रकारको तालिमहरुमा पारदर्शिताको कमि हुन र निष्पक्षताको अभाव देखिएको छ ।

यस प्रकारबाट दिइने तालिमहरूमा पार्टी निकट, आफ्ना समर्थक र कार्यकर्ताहरूलाई नै प्रमुख प्राथमिकता दिइने गरिएको छ । यसले सबै नागरिकको समान पहुँचको सिद्धान्तमाथि प्रश्न उठाएको छ ।

यति मात्र होइन, एउटै व्यक्तिले पालिका र वडास्तरीय रुपमा संचालन हुने विभिन्न तालिमहरूमा बारम्बार सहभागी भएर प्रमाणपत्र संकलन गर्ने प्रवृत्ति पनि देखिएको छ । तर, यस्ता तालिमहरूबाट प्राप्त सीपलाई व्यावहारिक वा व्यवसायिक रुपमा रूपान्तरण गर्न सकिएको छैन । यसको पहिलो कारण भनेको सीप त सिक्ने तर बजारिकरणको ज्ञान नहुनु र सीप सिकाउने संघ संस्थाले पनि मात्र तालिम दिने र प्राप्त बजेट सदुपयोग भएको प्रतिवेदन तयार गरी निकासा लिने मात्र उद्देश्य राखेको कारण पनि सीप सिकेरै केही गरौं भन्ने सोचमा रहेका नागरिकहरुमा जाँगर कम हुने र तालिममा प्रशिक्षार्थी संकलन गरी कार्यक्रम संचालन गर्ने मनस्थितिका कारण एकै व्यक्तिले फरक फरक तालिम लिदैं प्रमाण पत्र बुझ्ने प्रवृत्तिका कारण स्वरोजगारमुलक प्रशिक्षण बजेट सकाउने मेसोको रुपमा रहको देखिन्छ ।

तसर्थ तालिमपछि सहभागीहरूले कस्तो लाभ उठाए, सीपको प्रयोग कसरी भयो भन्नेबारे कुनै अनुगमन हुन आवश्यक छ । तर यस प्रकारको व्यवस्था भने भएको पाइदैन । यस्तो अवस्थामा नगरपालिका र सम्बन्धित निकायको बजेट केवल खर्च गर्नका लागि प्रयोग भएको जस्तो देखिएको छ ।

सामाजिक संघसंस्था र स्थानीय सरकारद्वारा सञ्चालन हुने यस्ता तालिमहरू वर्षेनि आयोजना गरिए पनि त्यसबाट वास्तविक लाभग्राही वञ्चित हुन थालेका छन् । अनुत्पादक क्षेत्रमा निरन्तर लगानी हुँदा स्वरोजगारको उद्देश्यले सार्थकता पाउन सकेको छैन । तसर्थ अवका दिनमा यस्ता कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न पालिका, सम्बन्धित निकाय र नागरिक समाज गम्भीर रूपमा सचेत हुन आवश्यक देखिन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top