नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

0

काठमाडौं । दक्षिण एशियाली देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ आयोजना हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने विषयको जानकारी ललितपुरमा पत्रकार सम्मेलन गरेर दिएको छ ।

सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँगको सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क राष्ट्रका पत्रकारहरुलाई सहभागी गराउने जनाएको छ ।

सम्मेलनमा विभिन्न देशबाट ४० जना पत्रकारहरुले सहभागी हुनको लागि नाम टिपाएको छ र सोही अनुरुप होटल बुकिङदेखि आवश्यक तयारी भइरहेको जानकारी कार्यक्रमका संयोजक सुनील महर्जनले दिएका छन् । सम्मेलनको तयारी समेत अन्तिम चरणमा पुगेको उनले बताए ।  

यसअघि गत वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ नेपालमै सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले मातृभाषाको पत्रकारिता सुरु गरेको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेको बताएको छ । सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदानबाट लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा आयोजकको छ । 

पहिलो दिनको कार्यक्रम ललितपुरको राष्ट्रिय प्रकृति संरक्षण कोषमा र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा हुने आयोजकले जानकारी दिएकोे छ । मातृभाषा संरक्षणको लागि पत्रकारिता मूलः नारा दिएर अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत गर्ने, प्यानल डिस्कसन गर्ने, पत्रकारितामा योगदान गरेका व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा छलफल हुने मुख्य एजेन्डा निम्न रहेका छन् । मातृभाषा संरक्षणका लागि पत्रकारिता, मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति, सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि, धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता, बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका, मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका र मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।

त्यस्तै कार्यक्रममा मल्ल के सुन्दर, गणेश राई, अजितमान तामाङ्ग र बंगलादेशका मोहमद अब्दुल रहमानलाई र संस्थागत तर्फ रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र प्रेस काउन्सिल नेपाललाई सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top