काठमाडौं । मेटाले हालै सामग्री निर्माता (क्रिएटर) हरूका लागि नयाँ भिडियो सम्पादन एप ‘एडिट्स’ सार्वजनिक गरेको छ । यो नयाँ एप लोकप्रिय छोटो भिडियो सम्पादन एप क्यापकटसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो, जुन बाइटडान्स अन्तर्गतको कम्पनीले बनाएको हो र धेरै क्रिएटरहरूले प्रयोग गर्दै आएका छन् ।
टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयासका क्रममा क्यापकट केही समयका लागि अमेरिकी एप स्टोरबाट हटाइएको समय मेटाले यसै वर्षको जनवरीमा एडिट्समा काम गरिरहेको जानकारी पहिलो पटक दिएको थियो ।
अहिले क्यापकट पुनः उपलब्ध भए पनि टिकटकको भविष्य अमेरिका भित्र अझै अन्योलमा छ, त्यसैले क्यापकटको विकल्पमा मेटाले आफ्नो नयाँ एडिट्स एपमार्फत फाइदा उठाउने तयारी गरेको टेकक्रञ्चले उल्लेख गरेको छ ।
यो एपमा उपलब्ध सुविधाहरूबारेको मार्गनिर्देश तथा क्यापकटसँगको तुलना यस्तो छः
एडिट्स एप आईओएस र एण्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । एप डाउनलोड गरी खोल्नेबित्तिकै प्रयोगकर्तालाई आफ्नो इन्स्टाग्राम खाताबाट लगइन गर्न भनिन्छ ।
त्यसपछि प्रयोगकर्ताले पाँचवटा मुख्य ट्याब देख्नेछन ः आइडियाज, इन्स्पिरेशन, प्रोजक्ट्स, रेकर्ड, र इन्साइट्स । आइडियाज ट्याबमा प्रयोगकर्ताले नयाँ भिडियोका लागि विचार लेख्न र रुचिकर रील्स सुरक्षित गर्न सक्छन् । इन्स्पिरेशन ट्याबमा ट्रेन्डिङ अडियो र लोकप्रिय रील्स खोज्न सकिने सुविधा दिइएको छ ।
टेकक्रञ्चका अनुसार प्रोजक्ट्स ट्याबमा प्रयोगकर्ताले आफूले हालै सुरु गरेका भिडियोहरू सुरक्षित राख्न सक्छन् र फोनको ग्यालरीबाट भिडियो अपलोड गर्न पनि सक्छन् ।
रेकर्ड ट्याबमार्फत एपमै भिडियो खिच्न सकिन्छ । अन्त्यमा इन्साइट्स ट्याबमा प्रयोगकर्ताले कति पटक हेरियो, कति दर्शकसम्म पुग्यो, कति फलोअर्स थपिए आदि जानकारी पाउन सक्छन् ।
एडिट्स एपमा उपलब्ध केही विशेष फिचरहरू ः
- ग्रीन स्क्रीनः एक ट्यापमै भिडियोको पृष्ठभूमि परिवर्तन र सम्पादन गर्ने सुविधा
- टाइमलाइनः भिडियोक्लिपहरू मिलाउने र सम्पादन गर्ने
- क्याप्शन्सः विभिन्न भाषामा स्वतः क्याप्सन थप्ने
- अडियो लाइब्रेरीः इन्स्टाग्रामको सङ्गीत लाइब्रेरीबाट गीत प्रयोग गर्ने
- कटआउट्सः सामाग्रीहरू छुट्याएर ट्र्याक गर्ने
- एनिमेटः स्थिर तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने
- अप्लाइ अलः एकैपटक सबै क्लिपमा फिल्टर, इफेक्ट, ट्रान्जिसन आदि एप्लाई गर्न सकिने
- टाइमलाइन फ्रेम रेट सेलेक्टरः फ्रेमरेट परिवर्तन गरेर भिडियोलाई अझ राम्रो बनाउने
- अलाइनमेन्ट गाइड्सः भिडियो पोस्ट गर्दा मुख्य भागहरू ठीकसँग देखिने गरी स्थान मिलाउने
- बीट मार्कस ः अडियोसँग मेल खाने गरी टेक्स्ट वा क्लिपहरू सजिलै मिलाउने
- फिल्टर्सः ३० वटा फरक फिल्टर विकल्पहरू
- ट्रान्जिशन्सः ३० वटा ट्रान्जिसन विकल्पहरू क्लिपहरू जोड्न सकिने
एडिट्स र क्यापकटबीच भएका फरक ः
दुवै एप छोटो भिडियो सम्पादनका लागि राम्रो विकल्प भए पनि क्यापकटले एडिट्स भन्दा धेरै परिष्कृत सम्पादन उपकरण र एआई फिचरहरू प्रदान गर्छ ।
यो स्वाभाविक पनि हो, किनभने एडिट्स क्यापकट भन्दा नयाँ एप हो । मेटाले भविष्यमा एडिट्समा थप सुविधाहरू थप्ने अपेक्षा गरिएको छ । साथै क्यापकटसँग एडिट्स भन्दा ठुलो सङ्गीत संग्रह पनि छ ।
अर्को फरक कुरा के छ भने अहिले एडिट्स पूर्ण रूपमा निःशुल्क छ, तर क्यापकट सीमित रुपमा निःशुल्क छ र अन्य सुविधाका लागि शुल्क तिरेर मात्र प्रदान गर्न सकिन्छ ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार, भविष्यमा एडिट्समा पनि सशुल्क प्रो सुविधाहरू थपिने सम्भावना छ । त्यसैगरी क्यापकट वेबमा पनि उपलब्ध छ, तर एडिट्स हाल मोबाइल एप मात्र उपलब्ध छ ।