काठमाडौं, – वीरगञ्जमा किशोर–किशोरी र युवाहरूलाई लक्षित गर्दै सुरक्षित गर्भपतन तथा यौन–प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र सेवा प्रवर्द्धनका लागि ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ।
१५ देखि २४ वर्ष उमेर समूहलाई लक्षित परियोजनाले विद्यालय, कलेज र समुदायमा पुगेर सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम तथा निःशुल्क सेवाहरूको बारेमा जानकारी प्रदान गरिरहेको छ।
युवा संस्थाको अगुवाइमा सन् २०२१ देखि सञ्चालित यो परियोजनाको उद्देश्य युवालाई सही जानकारीसहित सेवा प्राप्त गर्न सक्षम बनाउने हो। संस्थाका वीरगञ्ज संयोजक आसु सर्राफका अनुसार, परियोजनाअन्तर्गत परामर्श सेवा, निःशुल्क गर्भनिरोधक सामग्री वितरण, र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा पनि समावेश गरिएको छ।
वीरगञ्जको नारायणी अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. मञ्जु रायका अनुसार परियोजनाको प्रभावले अहिले किशोरीहरू खुलस्त रूपमा जानकारी लिन थालेका छन् र सरकारी अस्पतालमा सुरक्षित गर्भपतन सेवा लिन आउन थालेका छन्।
परियोजनाले मोबाइल हेल्थ क्याम्प सञ्चालन, युवा मैत्री स्वास्थ्य सेवा विस्तार, भ्रम र लाजको वातावरण तोड्ने प्रयास लगायत विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। परियोजनामा ४० जना युवा ‘युवा च्याम्पियन’ को रूपमा प्रशिक्षण लिएर समुदायमा सक्रिय छन्। उनीहरूमार्फत १,५०० भन्दा बढी युवालाई प्रत्यक्ष रूपमा जानकारी दिइएको छ।
साथै, परियोजनाले ६ जना अनमीलाई मेडिकल गर्भपतनसम्बन्धी तालिम तथा ५० जना स्वास्थ्यकर्मीलाई मूल्य स्पष्टीकरण र मनोवृत्ति परिवर्तन तालिमसमेत दिएको छ।
युवा संस्थाका अनुसार परियोजनाको मूल उद्देश्य युवाहरू, विशेषतः किशोरी तथा युवा महिलालाई सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीमा सहज पहुँच उपलब्ध गराउनु हो। वीरगञ्जजस्ता क्षेत्रमा सेवा र जानकारीको अभावका कारण महिलाहरू असुरक्षित गर्भपतनको जोखिममा परिरहेका छन्।
सन् २००९ मा औपचारिक रूपमा स्थापना भएको युवा संस्था २००५ देखि नै युवासम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएको छ। संस्थाले युवाको नेतृत्व, सशक्तिकरण र वकालतमार्फत उनीहरूको सहभागिता प्रवर्द्धन गर्दै आएको छ।