चोभार गल्छीको ढुंगा काट्ने सरकारी योजनाको माओवादी केन्द्रद्वारा विरोध

0

काठमाडौं – नेपाल सरकार गृहमन्त्रालय तथा शहरी विकास मन्त्रालयले चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टानहरू काटी बागमती खोलाको बहाव क्षेत्र फराकिलो पार्ने निर्णय गरेपछि त्यसविरुद्ध नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिले आपत्ति जनाएको छ।

सोमबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र कीर्तिपुरले चोभार गल्छीलाई केवल कीर्तिपुर नगरपालिकाको मात्रै नभई, नेपालको ऐतिहासिक, धार्मिक, पौराणिक तथा सांस्कृतिक सम्पदा भएको दाबी गरेको छ। अध्यक्ष बैकुण्ठ महर्जन र इञ्चार्ज हिराबहादुर महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा गल्छीमा हुने ढुंगा विस्फोट तथा कटानले उपत्यकाको अमूल्य धरोहर नष्ट हुने भन्दै आपत्ति जनाइएको छ।

सरकारको निर्णयपछि नेपाली सेनालाई जिम्मेवारी दिइएको भन्ने समाचारले स्थानीयबासीमा त्रास र आक्रोश फैलिएको जनाउँदै माओवादी केन्द्रले बिना कुनै अध्ययन र सरोकारवाला निकायको सहमति यस्तो काम अगाडि नबढाउन आग्रह गरेको छ।

विज्ञप्तिमा ९ बुँदामा आधारित तर्क प्रस्तुत गर्दै गल्छीको संरक्षण आवश्यक रहेको जनाइएको छ। ती बुँदामा निम्न तथ्यहरू उल्लेख छन्:

  • चोभार गल्छी हजारौं वर्षदेखि बाढी र डुबानको कारक बनेको छैन।
  • खोलामा निर्माण गरिएको कोरिडोरले बाढी निम्त्याएको होइन।
  • एसियाकै दोस्रो लामो गुफा र मञ्जुश्री गल्छी रहेको यो क्षेत्र प्राकृतिक सम्पदा हो, यसको संरचना बिगार्न मिल्दैन।
  • गल्छी फराकिलो बनाउँदा जलविनायक मन्दिर जस्ता महत्वपूर्ण सांस्कृतिक स्थल संकटमा पर्नेछन्।
  • पछिल्ला ४० वर्षमा गल्छीमा बागमतीको गहिराइ १५ फिटभन्दा बढी बढेको छ – गल्छी नै बाढीको कारण होइन।
  • बहाव क्षेत्र सफा गर्ने कार्यमा स्थानीय सरकारहरू (कीर्तिपुर र ललितपुर) स्वयम् सक्षम छन्; संघीय सरकारको आवश्यकता छैन।
  • खोलाको मुहानदेखि गल्छीसम्म समग्रमा सुधार नगरेसम्म चोभार गल्छी फराकिलो पार्नु औचित्यहीन हुनेछ।
  • गल्छीको पूर्वपट्टि रहेका बस्ती र मन्दिरहरू जोखिममा पर्न सक्छन्।
  • सो कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीत हुनेछ।

माओवादी केन्द्रले चोभार गल्छी उपत्यकाको ऐतिहासिक उत्पत्तिसँग गाँसिएको स्मरण गराउँदै भनेको छ, “मञ्जुश्रीले उपत्यकाको दहको पानी बाहिर पठाएको स्थान नै यही न्हसिकाप हो। यसलाई नष्ट गर्नु भनेको उपत्यकाको इतिहास मेटाउनु हो।”

विज्ञप्तिमा चोभार गल्छीको संरक्षण तथा प्रवर्द्धनमा पार्टीको प्रतिबद्धता दोहोर्याइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top