भक्तपुर । हालै नियुक्त भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागिता सुदृढ गर्न विभिन्न योजना सार्वजनिक गरेका छन्। बिहीबार पत्रकारहरूसँगको भेटमा सिडिओ पाण्डेले जनगुनासो प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि अनलाइन उजुरी प्रणाली सुरु गर्ने घोषणा गरे। उनका अनुसार अब सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर सिधै प्रमुख जिल्ला अधिकारी कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन्। त्यस्ता उजुरीहरू आफैं हेरेर समाधान गर्ने जिम्मेवारी आफूले लिने पनि उनले बताए।
सार्वजनिक सुनुवाइलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै भने, “जनताको जानकारी बिना हुने सुनुवाइ स्वीकार्य हुँदैन। अपारदर्शी अभ्यास अन्त्य गरिन्छ।” उनले प्रत्येक तीन महिनामा नगरपालिका क्षेत्रमै पुगेर सम्बन्धित कार्यालय प्रमुखहरूसँग सार्वजनिक सुनुवाइ गर्ने र त्यहाँ उठेका समस्याहरू यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
सिडिओ पाण्डेले जिल्लामा बढ्दो अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरूसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। “हिंसा, लागू औषध, चोरी, ठगी र कालोबजारी नियन्त्रणमा तपाईंहरूको सूचना महत्त्वपूर्ण छ,” उनले भने। वर्षायाममा आउन सक्ने प्राकृतिक विपद्का जोखिमबारे समेत बोल्दै उनले जोखिमयुक्त क्षेत्रको पहिचान, नदीको बहावको निगरानी र पूर्वसतर्कता प्रणाली प्रभावकारी बनाउने योजना रहेको बताए।
भक्तपुरमा अनियन्त्रित प्लटिङ बढ्दो देखिएको भन्दै उनले अवैध प्लटिङमा कडाइ गरिने र वैध प्लटिङमा पनि वर्षायामभर निर्माण कार्य रोक्न निर्देशन दिने जानकारी दिए। उनले सञ्चार क्षेत्रको सक्रियता, सूचना आदानप्रदान र सहकार्यमार्फत सेवा प्रवाहमा पारदर्शिता ल्याउन सके जिल्लाको समग्र सुशासन बलियो हुने धारणा व्यक्त गरे।
सहसचिवका रूपमा हालै भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेका पाण्डेले जिल्लास्थित राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकराज तिमल्सिना र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारको संयोजनमा आयोजित छलफलमा सहभागी थिए। कार्यक्रममा जिल्लाभित्रको समस्या र सम्भावित समाधानका उपायबारे अनौपचारिक छलफल पनि भएको थियो।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
