काठमाडौं – पत्रकार दिलभूषण पाठकद्वारा युट्युबमा प्रसारण गरिएको सामग्रीको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएकाे समाचार सार्वजनिक भएपछि मिडिया तथा सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। पाठकले आफ्नो युट्युब च्यानलमार्फत काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै गम्भीर आरोप लगाएका थिए। उनले दुबई, अस्ट्रेलिया र क्यानडासम्म जयवीरको रियल स्टेट लगानी रहेको दावी गरे पनि ठोस प्रमाण भने प्रस्तुत गरेका छैनन्। यस्ता दावीहरू "बताइन्छ" जस्ता अस्पष्ट शब्दमा आधारित देखिन्छन्।
पत्रकारिता र आचारसंहिता
पाठकको सामग्री पत्रकारिताको आधारभूत सिद्धान्त विपरीत रहेको देखिन्छ। यदि कसैविरुद्ध गम्भीर आरोप लगाइन्छ भने त्यसमा प्रमाणको आधार आवश्यक हुन्छ। सामाजिक सञ्जालमा आएका आशंका र टिप्पणीलाई आधार बनाएर समाचार बनाउनु मिडियाको धर्म होइन।
यदि जयवीर देउवाले हिल्टन होटलमा लगानी गरेको प्रमाण पाठकले सार्वजनिक गर्न सके, भने त्यो ऐतिहासिक खुलासा हुने थियो र उनको योगदानका लागि पुरस्कार दिन सकिने थियो। तर, प्रमाणबिनाका गम्भीर आरोपबाट व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच आउनु न्यायोचित होइन।
यस्तो स्थिति पत्रकारिताको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ। तथ्यहीन सामग्री सार्वजनिक गर्दा समग्र पत्रकारिता क्षेत्रको प्रतिष्ठामा आघात पुग्ने खतरा हुन्छ।
साइबर कानुन होइन, नियामक निकायमार्फत छानबिन गरौं
यद्यपि पाठकले प्रस्तुत गरेको सामग्री आपत्तिजनक देखिए पनि त्यसको अनुसन्धान साइबर अपराध अन्तर्गत गर्नु उपयुक्त होइन। प्रेस काउन्सिल नेपाल जस्ता नियामक निकायहरू यस्ता उजुरीको उचित थलो हुन्।
यदि कसैलाई उक्त सामग्री आपत्तिजनक लाग्छ भने पहिला प्रेस काउन्सिलमा उजुरी गर्न सकिन्छ। त्यसपछि पनि सन्तोषजनक निर्णय नआएमा अदालतमार्फत मानहानी मुद्दा दर्ता गर्न सकिन्छ। यसरी वैधानिक प्रक्रिया हुँदाहुँदै साइबर कानुन प्रयोग गरी पत्रकारलाई डरत्रास देखाउनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य हो।
पत्रकारिता क्षेत्रभित्रको आत्मालोचना आवश्यक
हाल पत्रकारिता क्षेत्रमा तथ्य र प्रमाणभन्दा लोकप्रियता र ‘भ्युज’को लोभमा तथ्यहीन र अमर्यादित प्रश्न तथा आरोपको प्रवृत्ति मौलाउँदै गएको छ। जनप्रतिनिधिलाई ‘हिटलर’, ‘हनुमान’ जस्ता अमर्यादित विशेषणसहित प्रश्न सोध्ने शैली पत्रकारिताको मर्यादाविपरीत हो।
त्यस्तै, टेलिभिजन टक शो तथा कमेडी कार्यक्रमहरूमा व्यक्तिविशेषको चरित्र हत्या गर्ने शैली पनि गम्भीर चिन्ताको विषय बनिरहेको छ। उदाहरणका लागि, कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पटकपटक व्यंग्यपूर्वक अपमानजनक रूपमा चित्रण गरिनु अस्वीकार्य हो।
पत्रकारिता सुधारको खाँचो
मूलधारका मिडियाहरूमा अहिले पनि जिम्मेवार र आचारसंहिता पालना गर्ने पत्रकारहरू छन्। तर तिनको प्रभाव ओझेलमा परेको छ। अहिलेको आवश्यकता भनेको मिडिया क्षेत्रमा देखिएका विकृति र विसङ्गतिमाथि कठोर आत्मालोचना गर्नु हो।
अतः पत्रकारिताको न्यूनतम् मूल्य, मान्यता र आचारसंहिता पालना गर्दै विश्वसनीयता जोगाउनु आजको आवश्यकता हो। प्रमाणबिनाका आरोपहरूलाई पत्रकारिताको नाममा स्वीकार्नु न लोकतन्त्रको हितमा हो, न मिडियाको ।
अन्तमा
पत्रकारले तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्छ। सामाजिक सञ्जालको अराजकता देखाउँदै मिडिया स्वेच्छाचारी बन्न मिल्दैन। यस्ता विषयमा नियमन प्रेस काउन्सिलमार्फत हुनुपर्छ, न कि साइबर अपराधको आरोप लगाएर डरत्रास सिर्जना गर्ने प्रयासमार्फत।
प्रेस स्वतन्त्रता रक्षा गर्न कानुनी प्रक्रिया पालना गर्न जरूरी छ, र त्यसका लागि स्वयं पत्रकारिताले पनि आफ्नो मर्यादा कायम राख्नुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ।