काठमाडौं – भिजिट भिसा प्रकरणका सन्दर्भमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै संसदमा विरोध प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रतिनिधिसभाबाट निष्काशन गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माग गरेको छ।
मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियम उल्लंघनको आरोप लगाउँदै रास्वपा सांसदहरूको आचरण संसद्को मर्यादाविपरीत रहेको बताए।
‘सभामुख महोदय, संसद् सचिवालयको नियमावली ३० अनुसार अभद्र व्यवहारको नियन्त्रणको प्रावधान छ र नियम ३१ अनुसार बैठक कक्षबाट निष्कासन गर्न सकिने व्यवस्था छ’, घिमिरेले भने। उनले नीलो स्कार्फ लगाएर बैठकमा उपस्थित भएका रास्वपा सांसदहरूको पोशाकलाई लक्ष्य गर्दै सो पहिरन मर्यादित नहुने तर्क गरे।
‘यदि आज स्कार्फ लगाएर आउन मिल्छ भने भोलि हाफ पाइन्ट लगाएर आउँछन्, त्यो पनि स्वीकार गर्नुपर्ने हो?’ घिमिरेले प्रश्न उठाउँदै भने, ‘यो संसद्को गरिमा विपरीत हो।’
उनले सभामुख देवराज घिमिरेसमक्ष रास्वपा सांसदहरूलाई चेतावनी दिएर निष्काशन गर्न माग गरे। ‘सभामुखज्यूले यथोचित निर्णय लिनुपर्छ’, घिमिरेले भने, ‘संसद्को मर्यादा कायम राख्न सांसदहरूलाई निष्कासन गर्न सक्नुपर्छ।’




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
