फिजिकल रिभ्यु लेटर्स जर्नलमा प्रकाशित अध्ययनअनुसार, अन्टार्कटिक इम्पल्सिभ ट्रान्जियन्ट एन्टेना (ANITA) नामक उपकरणद्वारा यी रहस्यमय रेडियो तरंगहरू पत्ता लागेका हुन्।
एनडीटिभीको रिपोर्टअनुसार, यी संकेतहरू वैज्ञानिकहरूमा पुग्नुअघि हजारौं किलोमिटर चट्टानी भाग पार गर्दै आएका छन्। सामान्यतः त्यस्तो दूरीबाट रेडियो संकेतहरू विकृत भएर पत्ता लगाउन असम्भवजस्तै हुन्छ। तर, कुनै रहस्यमय तरिकाले यी संकेतहरू डिटेक्टरमा देखा परेका हुन्।
ANITA टोलीकी सदस्य तथा खगोल भौतिकशास्त्रकी सह–प्राध्यापक स्टेफनी विसेलका अनुसार, “हामीले देखेका रेडियो तरंगहरू बरफको सतहभन्दा ३० डिग्री तलको तीव्र कोणमा आएका थिए, जुन सामान्य अवस्थामा सम्भव हुँदैन।”
वैज्ञानिकहरूले यस्ता संकेतहरू न्यूट्रिनो खोज्ने क्रममा गल्तिले पत्ता लगाएका हुन्। न्यूट्रिनोहरू अत्यन्त सानो पिण्ड भएका, कुनै आवेश नभएका उप–परमाणविक कणहरू हुन्, जुन सूर्य, सुपरनोभा वा बिग ब्याङ्ग जस्ता उच्च–ऊर्जा ब्रह्माण्डीय घटनाहरूबाट उत्सर्जित हुने गर्छन्।
तर, यी फेला परेका रेडियो तरंगहरू न्यूट्रिनोका प्रतिनिधि नभएको वैज्ञानिकहरूले बताएका छन्। विसेलले भनिन्, “यी संकेतहरूको वास्तविक प्रकृति अझै स्पष्ट छैन, तर यिनीहरू न्यूट्रिनो होइनन् भन्ने हामीलाई थाहा छ।”
उनका अनुसार, “बरफ नजिक र क्षितिज क्षेत्रमा केही अनौठा रेडियो तरंग प्रसारण प्रभाव हुनसक्छन् भन्ने अनुमान गरे पनि त्यसको पूर्ण बुझाइ हामीसँग छैन।”
हाल वैज्ञानिकहरू नयाँ उपकरण 'पीयूईओ' (PUEO) मार्फत यस्ता संकेतहरूको खोज तथा रहस्य समाधान गर्ने तयारीमा छन्। “पीयूईओसँग उच्च संवेदनशीलता हुनेछ र हामीले थप संकेतहरू फेला पार्नेछौं भन्नेमा म आशावादी छु,” विसेलले बताइन्।
यो घटनाले ब्रह्माण्डका गहिरा रहस्यहरू बुझ्न नयाँ ढोका खोल्ने आशा गरिएको छ।