भक्तपुर । तःमारीस्थित ऐतिहासिक ङ्यातपोल मन्दिरको गजूर स्थापना गरी मन्दिर निर्माण सम्पन्न भएको ३२३ वर्ष पूरा भएको छ। वि.सं. १७५९ साल असार शुक्ल प्रतिपदाका दिन मन्दिरको गजूर राखेर कोट्याहुती यज्ञ गरिएको थियो।
यस मन्दिर निर्माण सम्पन्न भएको २२ महिना पश्चात् भक्तपुरका एक व्यक्ति ‘दुखी भारो’ले रामायणको नेवारी अनुवाद गरेका थिए। अनुवादग्रन्थको एक अंशमा उनले मन्दिर निर्माणका लागि आवश्यक जमिनको कारण आफ्नै पुर्ख्यौली थलो ‘ननिछेँ’ छाड्नुपरेको र त्यसपछि ‘भुलाछेँ’मा सर्नुपरेको उल्लेख गरेका छन्। यही विस्थापनले गर्दा आफू “दुखी” भएको बताउँदै उनले आफ्नै नाममा पनि त्यो पीडा प्रतिबिम्बित गरेका छन्।
त्यस कालखण्डमा पनि राज्यले सार्वजनिक संरचना निर्माणका लागि नागरिकका घर–जग्गा अधिग्रहण गर्ने चलन रहेको देखिन्छ। दुखी भारो मात्र होइन, मन्दिर निर्माणका क्रममा तःमारी क्षेत्रबाट धेरैलाई हटाइएको थियो। विस्थापित गरिएकाहरूलाई राज्यले सत्ताभर्नाका लागि ‘पलिखेल’ नामक स्थानमा जग्गा दिएको थियो। नेपाल भाषामा ‘पलि’ भन्नाले सत्ताभर्ना र ‘ख्य’ भन्नाले खेत जनाउँछ। यही व्युत्पत्तिबाट पलिख्य शब्द बनेको हो, जुन कालान्तरमा अपभ्रंश हुँदै आजको ‘पलिखेल’ भएको हो।
पलिखेलमा बसोबास गर्न पुगेकाहरूलाई त्यसबेला ‘पलिख्य’ भनिन्थ्यो। पछि यही नामबाट ‘पलिखे’ वा ‘पालिखे’ थरको विकास भएको पाइन्छ। हाल पूर्वतर्फ बसाइ सरेकाहरू ‘पलिखे’ लेख्ने गरेका छन् भने पश्चिम गएकाहरू ‘पालिखे’ लेख्छन्।
हाल देखिने भव्य ङ्यातपोल मन्दिर नयाँ निर्माण गरिएको भए पनि यसअघि रहेको मन्दिर बि.सं. १७५८ साल पौष सुदी ७ गते, बृहस्पतिवारका दिन विधिपूर्वक भत्काइएको थियो। त्यसपछि पाँच दिनसम्म वास्तुपूजा गरेर मात्र नयाँ मन्दिरको निर्माण कार्य थालिएको थियो। आश्चर्यजनक रूपले, जम्मा ६ महिनाभित्र मन्दिर निर्माण सम्पन्न गरिएको थियो।
त्यो समय न त आधुनिक उपकरण थिए, न त प्रविधि। तैपनि निर्धारित अवधिमा यति विशाल मन्दिर बनाइनु तत्कालीन शासक, कर्मचारी र निर्माणकर्ता सबैको समर्पण र दृढताको प्रमाण हो। अहिलेको सन्दर्भमा हेर्दा, प्रविधि र स्रोत साधन प्रशस्त हुँदाहुँदै पनि सरकारी योजनाहरू वर्षौंदेखि अपूरा रहने गरेको अवस्था देखिन्छ।
यसै सन्दर्भमा, मन्दिर निर्माणका क्रममा तयार पारिएको मूल नक्सा अझै पनि महत्वपूर्ण दस्तावेजका रूपमा रहेको उल्लेख गर्न सकिन्छ।