काठमाडौं । साहित्यकार तथा पत्रकार जयदेव गौतमद्वारा लिखित समीक्षा सङ्ग्रह अँगालोमा सार्वजनिक गरिएको छ। नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शुक्रबार राजधानीमा आयोजित एक समारोहमा प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक प्रमोद प्रधान, साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन', डा. गीता त्रिपाठी लगायतका व्यक्तित्वले पुस्तकको लोकार्पण गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भट्टराईले नेपाली भाषालाई विकृत पार्ने प्रवृत्तिबाट सजग रहन आग्रह गर्दै विदेशमा रही अस्वस्थताको बाबजुद पनि नेपाली साहित्यमा योगदान दिँदै आएका गौतमको प्रशंसा गरे।
वरिष्ठ समालोचक प्रमोद प्रधानले अँगालोमा ग्रन्थको समीक्षा गर्दै हालका समीक्षाहरूमा कृति-केन्द्रित गहिरो विश्लेषण कम रहेको उल्लेख गरे। उनले भने, “जयदेवजीले प्रशंसा मात्र होइन, कृतिका कमजोरीहरूलाई पनि स्पष्ट रूपमा लेख्ने हिम्मत गरेका छन्।" साथै, उनले गौतमको समीक्षा सन्तुलित, आलोचनात्मक चेत भएको र पचासको दशकअघिका कृतिहरूलाई समेत समेटेको बताए।
समालोचक डा. गीता त्रिपाठीले गौतमलाई “आँखाबाट ओझेल परे पनि चेतनाबाट ओझेल नपरेका स्रष्टा” को रूपमा वर्णन गर्दै अस्वस्थ अवस्थामै ४२ वटा विविध विधाका कृतिहरूको समीक्षा गर्नु उल्लेखनीय भएको बताइन्। “तथ्यपरक, बौद्धिक र अनुसन्धानमूलक समीक्षा लेखेर गौतमले लेखकहरूलाई सचेत गराउने प्रयास गरेका छन्,” उनले भनिन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विदेशमा बसेर पनि सक्रिय रूपमा नेपाली साहित्य सेवा गरिरहेकोमा जयदेव गौतमलाई साधुवाद दिए। “गौतमले अशक्त अवस्थामा पनि कलम रोक्दैनन् भन्ने प्रेरणादायी सन्देश दिएका छन्,” उनले बताए।
अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका गौतमको लिखित मन्तव्य कार्यक्रममै विजय थापाले वाचन गरेका थिए। मन्तव्यमा उनले स्वास्थ्यका कारण शारीरिक उपस्थिति जनाउन नसकेको उल्लेख गर्दै, "विकसित मुलुकहरूमा समीक्षा विधाको महत्वपूर्ण स्थान छ, नेपालमा पनि समीक्षाको गरिमा बढ्दै जानेछ," भन्ने विश्वास व्यक्त गरेका थिए।
श्रीओम श्रेष्ठ 'रोदन'को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शंकर भारतीले र सञ्चालन प्रकाश 'घायल'ले गरेका थिए। अँगालोमा कृतिको प्रकाशन सुन्दर स्वदेश पब्लिकेशनले गरेको हो।