सबैले सम्मान र अनुकरण गरोस् भन्ने खालको जीवन होस् : अध्यक्ष प्रचण्ड

0



भक्तपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी जीवनशैलीतर्फ उन्मुख हुनुको विकल्प नभएको बताएका छन्। शनिबार मध्यपुर थिमिमा आयोजित पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले जीवनलाई अरुका लागि प्रेरणादायी बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।

“मृत्यु हाम्रो हातमा छैन, तर जीवन कसरी बाँच्ने हाम्रै हातमा छ,” भन्दै अध्यक्ष प्रचण्डले जीवनलाई यस्तो बनाउनु पर्ने धारणा व्यक्त गरे, “सबैले सम्मान र अनुकरण गरोस् भन्ने खालको जीवन होस्।”

कम्युनिष्ट विचार बोकेका व्यक्तिको व्यवहार सरल, सामाजिक, श्रम र उत्पादनमा केन्द्रित तथा पारदर्शी हुनुपर्ने उनको भनाइ थियो। “अब समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन,” अध्यक्ष प्रचण्डले स्पष्ट पारे।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हित, समानता, न्याय र समान अवसरलाई प्राथमिकता दिने मानिसहरू समाजमा मृत्युपछि पनि जीवित रहने उनको भनाइ थियो। पार्टीमा रुपान्तरण अभियान जारी रहेको र जनतामा आशा जगाउने अघिल्लो सरकार आफू नेतृत्वमा रहेको पनि उनले स्मरण गरे।

“हाम्रो व्यवहारमै समाजवादी क्रान्तिको भविष्य निर्भर छ,” उनले बताए। साथै, उनले मध्यपुरका नेता कृष्णलाल गोजा श्रेष्ठको जीवनलाई अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गरे।

“कमरेड कृष्णलालले मध्यपुरलाई मात्र होइन, सम्पूर्ण देशका कार्यकर्ताका लागि नेतृत्वप्रतिको विश्वास र सक्रियताको उदाहरण प्रस्तुत गर्नुभएको छ,” अध्यक्ष प्रचण्डले भने।

उनले नेवा: समुदायजस्तै विकसित सभ्यता भएका समुदायहरू समाजवादको पाठशालाजस्तै भएको उल्लेख गर्दै विविध पक्षबाट सिकेर समाजवादको नेपाली मोडल बनाउन आफू लागिपरेको जानकारी गराए।

श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, स्थायी समिति सदस्य लीलामणि पोखरेल, पूर्वमन्त्री शशी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य गङ्गा कार्की, केन्द्रीय सदस्यहरू दिलिप प्रजापति भिस्म, प्रह्लाद बुढाथोकी, गोविन्द आचार्य, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटा दीपशिखा, उमा कपाली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम माओवादी केन्द्र मध्यपुर थिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। पार्टीका नेताकार्यकर्ता, कृष्णलाल गोजाका पारिवारिक सदस्य तथा स्थानीयहरूको उपस्थिति रहेको जिल्ला संयोजक सुनिल गोठे बासुले जानकारी दिए।

को हुन् कृष्णलाल गोजा श्रेष्ठ?

भक्तपुरको मध्यपुर थिमि–४ निवासी कृष्णलाल गोजा श्रेष्ठ अग्रज वामपन्थी नेता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए। किशोर अवस्थाबाटै वामपन्थी आन्दोलनमा क्रियाशील उनले एकता केन्द्र, जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रसम्मको यात्रामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

इमान्दार, सरल र सादगीपूर्ण जीवनशैलीका कारण उनी सर्वप्रिय व्यक्तित्वका रूपमा चिनिन्थे। मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा विशेष समस्या नभएको पारिवारिक स्रोतको भनाइ छ। जेठ २६ गते बिहान करिब ९:३० बजे आफ्नै निवासमा हृदयाघातका कारण ७३ वर्षको उमेरमा उनको निधन भएको थियो।

उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्। उनी पत्नी, दुई छोरा र दुई छोरी सहितको परिवार छाडेर गए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top