काठमाडौँ । सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल्सको सहकार्यमा नेपालको पहिलो स्वदेशमै निर्मित इलेक्ट्रिक स्कुटर ‘पी–२’ (ए–२) सार्वजनिक हुने तयारीमा रहेको छ । लामो समयदेखि विकासको क्रममा रहेको यो परियोजनाले हालै आन्तरिक डिजाइन प्रस्तुति (पी–२ डिजाइन प्रेजेन्टेसन) सम्पन्न गरेको छ र अब प्रमाणीकरण प्रक्रियामा जाने तयारी भइरहेको जनाएको छ ।
‘मेड इन नेपाल’ को ब्याचसहित तयार गरिने पी–२ स्कुटरले स्वदेशी उत्पादन, नवप्रवर्तन र विद्युतीय सवारी साधन (ई–मोबिलिटी) को क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ । स्कुटरको टिजर सार्वजनिक गर्दै यात्रीले यसको डिजाइन र निर्माणप्रति दृढ विश्वास व्यक्त गरेको छ ।
पी–२ मा मिड–माउन्ट मोटर, ट्युबलेस अलोय ह्विल, अगाडि र पछाडि दुवै पाङ्ग्रामा डिस्क ब्रेक, साथै आकर्षक स्पोर्टी लुक दिने शार्प एज डिजाइन जडान गरिएको छ । कम्पनीले स्कुटरको पाइलट उत्पादन यही वर्षको अन्त्यसम्म सुरु गर्ने योजना बनाएको जनाएको छ।
पहिले नै विद्युतीय मोटरसाइकल पी–१ मार्फत बजारमा सशक्त उपस्थिति जनाइसकेको यात्री मोटरसाइकल्सले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा स्कुटर उत्पादनमार्फत स्वदेशी विद्युतीय सवारी उद्योगमा नयाँ अध्याय सुरु गर्न लागेको हो । यो साझेदारी अध्ययन, अनुसन्धान, डिजाइन, प्रोटोटाइप निर्माणदेखि उत्पादनसम्मका सबै चरणमा केन्द्रित छ ।
यसैबीच, कम्पनीले आफ्नो स्कुटरमा प्रयोग हुने ब्याट्रीको कार्यक्षमता परीक्षणलाई अझ सशक्त बनाएको छ । प्रयोगशालामा सीमित परीक्षणमात्र नगरी, कम्पनीले काठमाडौँ उपत्यका र दुर्गम पहाडी भेगहरूमा वास्तविक परिस्थितिमा स्कुटरको ब्याट्री परीक्षण गरिरहेको जनाएको छ । बुढानीलकण्ठ–टोखा–सूर्यचौर–छहरे–ढिकुरे जस्ता चुनौतीपूर्ण मार्गमा २०० किलोमिटरभन्दा बढी दूरी कभर गरी परीक्षण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यस्ता परिक्षणहरूबाट केही सातामै १० हजार किलोमिटरभन्दा बढी दूरीको डेटा संकलन गरिनेछ, जसले ब्याट्रीको दीर्घकालीन कार्यसम्भावनाबारे महत्वपूर्ण जानकारी प्रदान गर्नेछ ।