वृद्धवृद्धालाई सीप विकास तालिम : आत्मनिर्भर बनाउने पहल

0

मध्यपुर थिमि । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिक लक्षित सीप विकास तालिम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास कार्यालयको साझेदारीमा सम्पन्न तालिमको उद्देश्य वृद्धवृद्धाहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउनु रहेको थियो ।

मध्यपुर थिमि–८ बोदे स्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सांसद नुरज बज्राचार्य, वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले सहभागी ४२ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे । सोही अवसरमा समूहको स्थापनादेखि सक्रिय योगदान दिँदै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो ।

तालिममा सहभागी वृद्धवृद्धाहरूलाई डोला, बोटा, लप्ते (पातबाट बनेको नेवा भ्वय् लगायत नेवाहरुको धार्मिक तथा शुभकार्यमा पयोग गरिने बस्तु) तथा सुकुल बनाउन सिकाइएको थियो । समूहकी अध्यक्ष शिला सायमिका अनुसार, ३२ जनालाई लप्ते सिलाई, २० जनालाई सुकुल बुन्ने र १० जनालाई दुवै सीपको तालिम दिइएको हो । सहभागीहरूमा ६० वर्षदेखि ८२ वर्षमाथिका भिमरथारोहण गरेका जेष्ठ नागरिक पनि सामेल थिए ।

तालिम वैशाख ७ गते सुरु भई जेठ ३० गते सम्पन्न भएको हो । समापन कार्यक्रम असार ३ गते सम्पन्न गरिएको थियो । तालिममा ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने र काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिएकी थिइन् ।

न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले विगत १० वर्षदेखि वृद्धवृद्धाहरूका लागि दिवा हेरचाह सेवा सञ्चालन गर्दै आएको छ । संयुक्त परिवारमा बस्ने वृद्धवृद्धा पनि छोराबुहारी र नातीहरू काम र अध्ययनमा व्यस्त हुँदा घरमा एक्लिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै समूहले उनीहरूलाई सामाजिक रूपमा सक्रिय बनाउन कथा सुनाउने, संवाद गर्ने र घुमाउन लैजाने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top