विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको घोषणा

0

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किने औपचारिक घोषणा गरेकी छन्।

शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा सम्बोधन गर्दै उनले पार्टीको सदस्यता नवीकरण गरी एमालेमा फर्किएको जानकारी दिइन्।

“फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” उनले भनिन्, “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।”

पूर्वराष्ट्रपति भण्डारीले पार्टी र जनताको हित नै आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै व्यक्तिगत महत्वाकांक्षा नभएको बताइन्। उनले भनिन्, “देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। म राजनीतिमा कुनै पदका लागि होइन, योगदानका लागि सक्रिय हुनेछु।”

भण्डारीले पति तथा जननेता मदन भण्डारीको योगदान स्मरण गर्दै ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई अझ प्रभावकारी ढङ्गमा कार्यान्वयन गर्न आवश्यक रहेको बताइन्। जबजलाई नेपाली समाजको यथार्थ र परिवर्तनशील आवश्यकताका आधारमा मौलिक वैचारिक सिद्धान्तको रूपमा स्थापित गर्दै उनले सामाजिक–आर्थिक रूपान्तरणका लागि यसको भूमिका अझै महत्वपूर्ण रहेको औँल्याइन्।

कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको निधनपछि सुरु भएको फाउण्डेशनको यात्रा जननेताको सपना साकार पार्ने अभियानको रूपमा निरन्तर अघि बढिरहेको बताइन्। उनले फाउण्डेशनलाई “सामाजिक–आर्थिक समृद्धिको अभियान” का रूपमा परिभाषित गर्दै त्यसलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

पूर्वराष्ट्रपतिले आफ्नो विद्यार्थी जीवनदेखि नै अनेरास्ववियू र कम्युनिष्ट आन्दोलनमा सक्रिय सहभागिता रहेको स्मरण गराउँदै तत्कालीन नेकपा (माले) को कार्यकर्ताबाट सुरु भएको राजनीतिक यात्रा राष्ट्रपतिसम्म पुगेको बताइन्। राष्ट्रपतिको कार्यकालमा उनले राष्ट्र र जनताको स्वाभिमानमा आँच नआउने गरी सेवा गरेको दाबी समेत गरिन्।

उनले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अगाडि बढिरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई समर्थन जनाउँदै पार्टीप्रति विश्वास व्यक्त गरिन्।

विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै नेकपा (एमाले) भित्र नयाँ उत्साह थपिएको आकलन गरिँदैछ। जननेता मदन भण्डारीको सिद्धान्तप्रति प्रतिबद्धता दोहोऱ्याउँदै उनले सामाजिक न्याय, समानता र समृद्ध राष्ट्र निर्माणमा आफू समर्पित रहने प्रतिवद्धता व्यक्त गरिन्।

भण्डारीको यो घोषणालाई राजनीतिक वृत्तमा नेकपा (एमाले) भित्रको सशक्त पुनर्संयोजन र भावी रणनीतिमा प्रभाव पार्ने संकेतका रूपमा हेरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top