भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बौद्ध दर्शनमा आधारित जीवनदर्शन र निर्वाण प्राप्तिसम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मंगलबार भक्तपुरको चुनदेवीस्थित गेष्ट हाउसमा डा. भिक्षु मंगल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रवचनका क्रममा डा. भिक्षु महर्जनले गौतम बुद्धद्वारा प्रतिपादित दर्शन जीवन र जगतप्रतिको गहिरो विश्लेषण भएको बताउँदै, दुःखको कारण, त्यसको निवारण र निर्वाण प्राप्तिको मार्ग स्पष्ट गर्ने शिक्षा दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार बौद्ध दर्शनले जीवनलाई परिवर्तनशील, अनित्य (अस्थायी) र दुःखयुक्त मानेर व्यक्तिलाई आन्तरिक चेतनाको पहिचानमार्फत मुक्ति प्राप्त गर्ने मार्गदर्शन दिन्छ ।
उहाँले चतुः आर्य सत्यहरू – दुःख, दुःखको कारण (तृष्णा), दुःखको निवारण, र दुःखनिरोधमार्ग (अष्टाङ्गिक मार्ग) – बौद्ध शिक्षाका मूल आधार भएको बताउनुभयो । अष्टाङ्गिक मार्गअन्तर्गत सम्यक दृष्टि, संकल्प, वाक्, कर्म, आजीविका, प्रयास, स्मृति र समाधिको अभ्यासले नै निर्वाण प्राप्त गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष तथा नगर खेलकुद समितिका पूर्व संयोजक उकेश कवाँले बौद्ध दर्शनले तृष्णा र मोहबाट मुक्त भई आत्मचिन्तन, नैतिकता र मानसिक अनुशासनद्वारा जीवनको सार बुझ्न सहयोग गर्ने धारणा व्यक्त गरे । उनले आजको समयमा पनि बौद्ध शिक्षाहरू अत्यन्त सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।
समारोह भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राखेको थियो भने संघका सचिव साजन लघुले धन्यवाद ज्ञापन गरेको थियो ।