काठमाडौं । कवि जुमन किरणको नयाँ कविता सङ्ग्रह ‘यादहरूको बहिर्गमन’ सार्वजनिक गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा आयोजित विशेष समारोहबीच कृतिको विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, कलानिधि दाहाल, कृष्ण प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल र प्रोल्लास सिन्धुलीयले संयुक्त रूपमा कृति विमोचन गरे।
‘प्रयोगशील कवि’ को रुपमा जुमन
प्रमुख अतिथि शैलेन्द्र साकारले जुमन किरणलाई प्रयोगशील कविका रूपमा चित्रण गर्दै उनका कविताहरूमा सौम्य व्यङ्ग्यचेत र गहिरो संवेदना रहेको बताए। कविता सिर्जनाको कलाले आफुलाई तानेको अनुभव उनले व्यक्त गरे। वरिष्ठ कवि कृष्ण प्रधानले ‘यादहरूको बहिर्गमन’ को शीर्षक प्रभावशाली भएको बताउँदै जुमनको कवितामा मौन र गम्भीर विद्रोहको स्वर स्पष्ट देखिएको बताए। उनका अनुसार कविताहरू लघु तर गहिरो बिम्ब, नयाँपन र दार्शनिक चेतनाले भरिएका छन्।
साहित्यमा निरन्तरता र संकल्पको उदाहरण
कलानिधि दाहालले कवि जुमनमा साहित्यप्रतिको संकल्प, समर्पण र निरन्तरताको देखिएको बताए। उनले बिम्बको छनोटप्रति आफू प्रभावित भएको उल्लेख गरे। श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिको विमोचन जन्मदिनसँग संयोगमा ल्याउनु जुमनको लागि विशेष क्षण भएको भन्दै शुभकामना दिए। "कृति प्रकाशन आफैँमा उत्सव हो," उनले भने।
कवितावाचन र शुभकामना मन्तव्य
कार्यक्रममा कवितासङ्ग्रहबाट रुविना राना, विनोद खत्री ‘आकाश’ र बसुन्धरा चौहानले कविता वाचन गरे। शुभकामना मन्तव्य साहित्यकार प्रोल्लास सिन्धुलीयले व्यक्त गरे।
कृतिकारको आभार
कृतिकार जुमन किरणले पुस्तकप्रति रचनात्मक सुझाव दिन सबैलाई अनुरोध गर्दै सहयोग गर्नेहरूप्रति आभार प्रकट गरिन्। कार्यक्रमको अध्यक्षता सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए भने सञ्चालन महासचिव प्रदीप सापकोटाले र स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ले गरेका थिए।
प्रकाशन र मूल्य
‘यादहरूको बहिर्गमन’ सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित कृति हो र यसको मूल्य रू. ३००। रहेको छ। कार्यक्रमको मिडिया पार्टनर इखबर डटकम रहेको थियो।