भक्तपुर । भक्तपुरको मध्यपुरथिमिकाे–राधेराधेमा ‘फिस टनेल एक्स्पो २०८२’ जारी छ। औद्योगिक शान्ति नेपाल संस्थाद्वारा जिल्लामा पहिलोपटक आयोजना गरिएको यस मेला सांसद दुर्लभ थापाले उद्घाटन गरेका हुन्।
साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोको मुख्य आकर्षण ‘फिस टनेल’ र ‘सुनामी राइड’ हुन्। आयोजक अध्यक्ष सन्दीप महतका अनुसार नेपालमै हालसम्मकै सबैभन्दा ठूलो टनेल जस्तै संरचनामा पारदर्शी पर्खालभित्र पौडिरहेका समुद्री माछा नजिकैबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ। विशेष प्रकाश र ध्वनि प्रविधिबाट समुद्रको वातावरण सिर्जना गरिएको यो टनेलमा आगन्तुकले जीवित जलजीवसँगै फोटो, भिडियो र टिकटक निर्माण गर्न सक्नेछन्।
भारतबाट ल्याइएका दुर्लभ १६० प्रजातिका रंगीन समुद्री माछाहरू टनेलमा प्रदर्शनमा छन्। विद्यार्थी, बालबालिका र जलजीवप्रेमीहरूका लागि यो अनुभव ज्ञानवर्धक र मनोरञ्जनात्मक दुवै हुनेछ।
‘सुनामी राइड’ एक्स्पोको अर्को विशेषता हो, जसले समुद्री लहरजस्तै हल्लिने अनुभव दिन्छ। बालबालिकादेखि युवावर्ग लक्षित विभिन्न खेलजस्तै पिङ, रोटेपिङ, ड्रागन राइड, जम्पिङ, कोलम्बस आदि पनि राखिएको छ।
नेवारी खाजा, सम्बे, बजीलगायतका परिकारहरू, गेम जोन तथा फोटो स्पटसमेत समावेश गरिएको एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ।
स्थानीय पर्यटन प्रवर्द्धन, पारिवारिक रमाइलो र बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन लक्षित गरिएको यो मेला साउन १० गतेसम्म चल्नेछ।
साथै, एक्स्पो अवधिभर विद्यालयबाट सामूहिक रूपमा मेला अवलोकन गर्न आउने विद्यार्थी समूहका लागि विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।