धरान, — कोशी प्रदेशकी सांसद यशोदा कायस्थले नेपाल जस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देशमा समुदायको अस्तित्व जोगाउन सबैले आ–आफ्नो संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहनुपर्ने आवश्यकता औंल्याएकी छन्। धरानमा लोपोन्मुख नेवार परम्परागत धाँ बाजाको पुनर्जागरणका लागि सञ्चालित २१ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सांसद कायस्थले भनिन्, "जातीय संस्कृति र संस्कार जगेर्ना भएमा मात्र समुदायको पहिचान र अस्तित्व रहन्छ।"
समारोहमा उनले समुदाय–समुदायबीचको सांस्कृतिक विविधता र आत्मपहिचानलाई जोगाएर सहअस्तित्वमा बस्न सकिने उल्लेख गरिन्। धाँ बाजाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यसहित नेवा पासा खलः धरानले सञ्चालन गरेको तालिमको समापन कार्यक्रम धरानको सिद्धि नेवा परिषद्को परिसरमा सम्पन्न भयो।
तालिममा धरानका ६० जना बालबालिकाले भाग लिएका थिए। उनीहरूलाई काठमाडौँबाट आएका प्रशिक्षक निकित डंगोलले प्रशिक्षण दिएका थिए।
समापन समारोहमा धरान–३ का वडाध्यक्ष विद्या शाक्यले वडाको तर्फबाट संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, नेवा देय दबूँका केन्द्रीय उपाध्यक्ष अनिल श्रेष्ठले पासा खलःले यस्तो महत्वपूर्ण तालिम सञ्चालन गरेर नेवार समुदायबीच एक उदाहरणीय कार्य गरेको बताए। उनका अनुसार काठमाडौँ उपत्यकापछि धरान नेवार संस्कृतिको उत्थानमा अग्रस्थानमा छ।
परम्परागत धाँ बाजा सात प्रकारका तालहरूमा बजाइन्छ— ४ मात्रामा चोप ताल, ७ मात्रामा प्रताप र जति ताल, ८ मात्रामा तालमा, १४ मात्रामा ग्रह ताल, १० मात्रामा अस्त्र ताल, र ६ मात्रामा पलेमा ताल। यी सबै तालहरू एकै साथ बजाइने ‘ग्वाला’ शैली धाँ बाजाको विशेषता हो। ग्वालामा भगवान् ग्वाला, नित्यनाथ ग्वाला, श्रीकृष्ण ग्वाराजजस्ता देवतासँग सम्बन्धित स्तुति समावेश हुन्छन्।
तालिमका संयोजक तथा पासा खलःका महासचिव अमृत श्रेष्ठले नयाँ पुस्तालाई संस्कृति, संस्कार र परम्परा सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रमको सभापतित्व आयुष शाक्यले गरेका थिए।