चाँगुनारायणको नीति तथा कार्यक्रम ः कृषि, पर्यटन र पूर्वाधारलाई समृद्धिको मूल आधार बनाइने

0

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नगरप्रमुख जीवन खत्रीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छन् । मंगलबार सुरु भएको नगरसभाको सत्रौं अधिवेशनमा “कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधार“ भन्ने दीर्घकालीन सोचलाई साकार पार्ने गरी महत्वाकांक्षी कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

नगरपालिकाले “सबल स्थानीय सरकारः समुन्नत टोल, समुन्नत नगर“ को नारालाई व्यवहारमा उतार्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सुशासन र वित्तीय अनुशासनमा जोड दिने नीति लिएको छ ।

नगरकोट भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनमा जोड

आगामी वर्षलाई “नगरकोट भ्रमण वर्ष २०८२“ को रूपमा मनाउने घोषणा गर्दै नगरपालिकाले पर्यटनलाई आय र रोजगारीको प्रमुख स्रोत बनाउने नीति अघि सारेको छ । यसका लागि मौलिकता र नवप्रवर्तनमा आधारित साहित्यिक तथा शैक्षिक महोत्सवहरू सञ्चालन गरिनेछ । साथै, नगरभित्रका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ । नगरकोट पुग्ने मुख्य सडक निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकता

नीति तथा कार्यक्रममा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ । कृषकको मागअनुसार साझेदारीमा उपकरण तथा बीउबिजनमा सहयोग गर्ने, रैथाने बालीलाई प्रोत्साहन गर्ने र जैविक मलको प्रयोग बढाउने नगरपालिकाको योजना छ ।

पूर्वाधार विकासतर्फ नगरका ९ वटै वडालाई नगरपालिका कार्यालयसँग जोड्ने सडक सञ्जाल र खासाङखुसुङ खोला–नगरपालिका भवन–घट्टेखोला नयाँ करिडोर निर्माण कार्यलाई आर्थिक वर्ष २०८२÷०८३ भित्रै सम्पन्न गरिने घोषणा गरिएको छ ।

सुशासन र प्रविधिमैत्री सेवा

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले विशेष जोड दिएको छ । नगरको वेबसाइटमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित च्याटबट प्रणाली स्थापना गरी नागरिकलाई २४÷७ डिजिटल सहायता प्रदान गरिनेछ । सबै वडामा ’डिजिटल हेल्प डेस्क’ स्थापना गर्ने, फाइल ट्र्याकिङ सिस्टम लागू गर्ने र अनलाइन सेवालाई थप प्रभावकारी बनाउने नीति लिइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता लागू गरिनेछ ।

सामाजिक विकास र समावेशीकरण

सामाजिक क्षेत्रतर्फ, “बचत खाता छोरीको, सुरक्षा जीवनभरीको“ कार्यक्रमलाई निरन्तरता दिँदै छोराहरूका लागि पनि बचत खाता कार्यक्रम सञ्चालन गरिने भएको छ । महिलाहरूमा बढ्दो स्तन क्यान्सर रोकथामका लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाइनेछ भने चाँगुनारायण अस्पतालमा विशेषज्ञ सेवा थप प्रभावकारी बनाइनेछ । विपन्न नागरिकलाई रोजगारमूलक सीप प्रदान गर्ने र महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

यसका साथै, राजश्वको दायरा बढाउने, विपद् व्यवस्थापनलाई समुदायस्तरसम्म लैजाने, विद्यालय शिक्षामा सुधार गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने जस्ता नीतिहरू पनि नगरपालिकाले अघि सारेको छ । सम्पूर्ण नीति तथा कार्यक्रमहरू नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना र मध्यकालीन खर्च संरचनाअनुसार कार्यान्वयन गरिने जनाइएको छ ।

१ अर्ब ८४ करोड ५६ लाख २० हजार ४१३ रुपैयाँको बजेट सार्वजनिक

त्यस्तै चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब ८४ करोड ५६ लाख २० हजार ४१३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उप–प्रमुख रमेश बुढाथोकीले नगरसभाको सत्रौं अधिवेशनको पहिलो बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको दिगो विकास, पूर्वाधार विस्तार र जनसेवा अभिवृद्धिमा केन्द्रित रहेर बजेट तर्जुमा गरिएको जानकारी दिए ।

संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा नगरपालिकाको आन्तरिक स्रोतमा आधारित बजेटले “कृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधार“ भन्ने नारालाई आत्मसात् गर्दै नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको उल्लेख गरिएको छ ।

बजेट प्रस्तुत गर्दै बुढाथोकीले प्रमुख पर्यटकीय गन्तव्य नगरकोट सडकको कालोपत्रे कार्य, सबै वडा कार्यालय जोड्ने सडक सञ्जाल विस्तार, खेलकुद पूर्वाधार, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा सुधार, उद्यमशीलता प्रवद्र्धन, पर्यटन विकास, सुशासन र डिजिटल सेवा विस्तारमा केन्द्रित कार्यक्रमहरु समावेश गरिएको बताए ।

उपप्रमुख बुढाथोकीले नगरपालिकाको आन्तरिक आय स्रोतका रूपमा सिफारिस दस्तुर, व्यवसाय दर्ता, घरनक्शा पास दस्तुर लगायतबाट ३० करोड ५५ लाख अनुमान गरिएको जानकारी दिए। त्यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट ८४ करोडभन्दा बढी रकम आउने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको २ अर्ब १२ करोडको बजेटमध्ये हालसम्म ५३.७८ प्रतिशत खर्च भइसकेको जानकारी दिँदै बुढाथोकीले पूँजीगत खर्चमा अझै वृद्धि हुने विश्वास व्यक्त गरे । नगरकोट भ्रमण वर्ष २०८२ सफल पार्न आवश्यक कार्यक्रमहरूका लागि समेत छुट्टै बजेट व्यवस्था गरिएको छ ।

आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार र प्रशासनिक क्षेत्रका उपलब्धिहरूको समेत संक्षिप्त विवरण प्रस्तुत गर्दै उनले आगामी वर्षको बजेटबाट जनताको सेवा र समृद्धिको चाहना पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top