काठमाडौं । नेपालका अधिकांश अभिभावकले आफ्ना सन्तानसँग अनलाइन यौन शोषण र दुर्व्यवहारजस्ता संवेदनशील विषयमा संवाद नगर्ने एक अध्ययनले देखाएको छ। बाल संरक्षणको क्षेत्रमा क्रियाशील संस्था 'चाइल्डसेफनेट'ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार ८५ प्रतिशत अभिभावकले यस्तो विषयमा कहिल्यै खुला संवाद गरेका छैनन्।
‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि’ शीर्षकको सो प्रतिवेदन शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो। राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले संयुक्त रूपमा प्रतिवेदनको लोकार्पण गरेका थिए।
कार्यक्रममा ढकालले प्रविधिको विकाससँगै बालबालिकामाथि बढ्दो अनलाइन जोखिमप्रति चिन्ता व्यक्त गर्दै, यस्ता विषयमा गरिने अनुसन्धान र सचेतनामूलक प्रयासको प्रशंसा गरिन्। काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाझ गरिएको सर्वेक्षणमा आधारित उक्त अध्ययन सेफ अनलाइन फण्ड र टेक कोअलिसनको सहयोगमा गरिएको हो।
अध्ययनले देखाएको छ कि अधिकांश अभिभावक अनलाइन जोखिमबारे चिन्तित त छन्, तर आफ्ना बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, संसाधन र आत्मविश्वासको कमी उनीहरूमा देखिन्छ। प्रमुख अनुसन्धानकर्ता अनिल रघुवंशीका अनुसार अभिभावकहरूलाई यस्ता विषयवस्तु संवेदनशील र उमेर अनुकूल नलाग्ने भएकाले कुराकानी गर्न झन्झटिलो लाग्ने गरेको पाइयो।
प्रतिवेदनअनुसार ४५ प्रतिशत बालबालिकासँग आफ्नै स्मार्टफोन छ भने ३४ प्रतिशतको आफ्नै सामाजिक सञ्जाल खाता पनि रहेको छ। अभिभावकको निगरानीबिना इन्टरनेट प्रयोग गर्ने बालबालिका वयस्क सामग्री र अनलाइन ग्रुमिङको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।
साथै, अध्ययनमा सहभागी भएका ७३ प्रतिशत अभिभावकले अहिलेसम्म कुनै पनि ‘प्यारेन्टल कन्ट्रोल’ प्रणाली प्रयोग नगरेको देखिएको छ। यस्तै, ७० प्रतिशतले बाल साइबर सुरक्षा विज्ञहरूबाट सञ्चालित अभिभावकीय सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्यचिकित्सक डा. नृपेश राजभण्डारीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न अभिभावकको भूमिकामाथि गहन छलफल गरेका थिए। यहाँ क्लिक गरेर अनुसन्धान प्रतिवेदन डाउनलोड गर्न सकिन्छ ।