भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु गर्ने तयारी, पाँच थान मेसिन स्थापना

0



भक्तपुर । भक्तपुरको दुधपाटीस्थित प्रादेशिक अस्पताल, भक्तपुर अस्पतालमा मिर्गौला रोगीका लागि अत्यावश्यक डायलासिस मेसिन स्थापना गरिएको छ। बागमती प्रदेश सरकारले उपलब्ध गराएको पाँच थान डायलासिस मेसिन अब केही समयमै सञ्चालनमा आउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा विभागबाट आवश्यक अनुमति प्राप्त भएसँगै डायलासिस सेवा औपचारिक रूपमा सुरु गरिनेछ।

“हामीले दैनिक तीन सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी गरेका छौं, जसअनुसार एकैदिन ४५ जना बिरामीलाई डायलासिस सेवा दिन सकिनेछ,” उनले बताए।

हालैका वर्षहरूमा मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित बिरामीको संख्यामा वृद्धि भइरहेको छ। यद्यपि, भक्तपुर अस्पतालकै परिसरमा अवस्थित ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ पर्याप्त सेवा दिन नसक्दा बिरामीहरू निजी क्लिनिकहरूमा धाउन बाध्य छन्।

निजी क्लिनिकमा एक पटक डायलासिस गराउँदा रु २,५०० देखि ५,५०० सम्म खर्च लाग्ने हुँदा बिरामीहरू आर्थिक रूपमा थप संकटमा पर्ने गरेका छन्। एक महिनामा १०–१२ पटकसम्म डायलासिस आवश्यक पर्ने भएकाले मासिक खर्च औसतमा रु ५०,००० सम्म पुग्ने अनुमान छ।

तर, भक्तपुर अस्पतालले भने डायलासिस सेवा पूर्णतः निःशुल्क रूपमा प्रदान गर्नेछ। अस्पताल विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व सांसद शशीजंग थापाले मिर्गौला फेल भएका बिरामीले हप्तामा दुई पटकसम्म निःशुल्क सेवा पाउने जानकारी दिए। साथै, डायलासिसका लागि आवश्यक पर्ने औषधि तथा किटको खर्च समेत सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।

वीर अस्पतालपछि स्थापना भएको दोस्रो जेठो सरकारी अस्पतालको रूपमा रहेको भक्तपुर अस्पतालले बागमती प्रदेश सरकारको मातहत आएपछि उल्लेखनीय प्रगति गर्दै आएको छ। विगतमा ‘रिफर सेन्टर’को छवि बनाएको यो अस्पतालले हाल ICU, NICU, HDU सेवा साथै अत्याधुनिक शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ। हालै ८ करोड रुपैयाँको लागतमा सिटी स्क्यान सेवा समेत सुरु गरिएको छ।

न्यूनतम सेवा मापदण्डको आधारमा मुल्यांकन गर्दा भक्तपुर अस्पताल ‘सर्वोत्कृष्ट अस्पताल’ घोषित भइसकेको छ। बागमती प्रदेश सरकारकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमका अनुसार, भक्तपुर अस्पतालको सेवा विस्तार र प्रविधि उपयोग अन्य अस्पतालहरूको लागि सिकाइको उदाहरण बनेको छ।

प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले भक्तपुर अस्पतालको विकासले प्रदेश सरकारको औचित्य र महत्व पुष्टि गरेको बताएका छन्।

यसैबीच, भक्तपुर अस्पतालले सेवा प्रवाहमा थप प्रविधिको प्रयोग गर्दै ल्याब रिपोर्टमा QR कोड प्रणाली सुरु गरेको छ। अस्पतालका IT विज्ञ दिपेश खड्काका अनुसार, मंगलबारदेखि सुरु गरिएको यो सेवामार्फत सेवाग्राहीहरूले आफ्नो ल्याब रिपोर्ट QR कोड स्क्यान गरेर सजिलै मोबाइलमै प्राप्त गर्न सक्नेछन्।

‘बागमती डिजिटल हेल्थ’ कार्यक्रमअन्तर्गत यो प्रविधि लागू गरिएको हो। प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डिजिटल स्वास्थ्य सेवा प्रवाहमा भक्तपुर अस्पतालले देखाएको सक्रियताप्रति सन्तोष व्यक्त गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top