भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरणहरूको शुभारम्भ, क्यान्सर उपचारमा नयाँ युगको सुरुवात

0



भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक चिकित्सा प्रविधिको प्रयोग गर्दै क्यान्सर उपचार सेवामा नयाँ अध्याय सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर अस्पतालले सिस्टोस्कोप, इन्डोस्कोप, अपरेटिङ न्युरोमाइक्रोस्कोप तथा सि–आर्म एक्स–रे प्रणालीको औपचारिक उद्घाटन गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्त, वरिष्ठ ग्याँस्ट्रोइन्टेरोलोजी सर्जन प्रा.डा. सुनिलकुमार शर्मा र डा. रोमियो कंंसाकारको उपस्थिति रहेको थियो । उनीहरूकै हातबाट उपकरणहरूको उद्घाटन गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले नयाँ उपकरणहरूको महत्वबारे जानकारी दिँदै, अब क्यान्सरसम्बन्धी विभिन्न प्रक्रिया थप सुरक्षित, सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने जानकारी दिए ।

उनका अनुसार, अबदेखि बिरामीलाई प्रारम्भिक अवस्थामा नै सही निदान र उपचार उपलब्ध गराउन सम्भव हुनेछ, जसले उपचार सफलतामा उल्लेखनीय सुधार ल्याउनेछ । विशेष गरी पेट, आन्द्रा, मूत्रथैली र मस्तिष्कमा हुने ट्युमरको पहिचान तथा उपचारमा यी उपकरणहरूले क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै डा. पन्तले अपरेटिङ न्युरोमाइक्रोस्कोपको प्रयोगले मस्तिष्क र मेरुदण्डका सूक्ष्म शल्यक्रियाहरू सुरक्षित रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए । त्यस्तै, सिस्टोस्कोपबाट मूत्रनली र मूत्रथैलीको अवस्थाको सूक्ष्म अवलोकन गर्न सकिनेछ भने, इन्डोस्कोपले पेट र आन्द्राको अवस्थाबारे थाहा पाउन मद्दत गर्नेछ । सि–आर्म एक्स–रे प्रणालीले वास्तविक समयमा एक्स–रे छायाँमार्फत शल्यक्रिया गाइड गर्न सकिने सुविधा प्रदान गर्नेछ ।

काठमाडौं उपत्यकामा अवस्थित भए पनि भक्तपुर क्यान्सर अस्पतालले लामो समयदेखि क्यान्सर उपचार सेवामा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएको छ । पछिल्ला वर्षहरूमा अस्पतालले पूर्वाधार विस्तार, विशेषज्ञ सेवाको थप र प्रविधिमैत्री प्रणाली विकासमार्फत उल्लेखनीय फड्को मारेको छ ।

निर्देशक डा. चालिसेले हालैका उपकरण जडानलाई अस्पतालको “भिजन २०८५“ अन्तर्गतको एक महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै, अब नेपालमै धेरै उपचार प्रक्रिया सम्भव भइसकेको बताए । भारत वा अन्य ठूला अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । उनले भने, “हामी प्रविधिको सदुपयोग गर्दै जनताको सेवामा समर्पित छौं । निकट भविष्यमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर उपचार केन्द्रको रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।”

यसले भक्तपुर मात्रै होइन, समग्र देशको क्यान्सर उपचार प्रणालीमा नयाँ आशाको सन्देश प्रवाह गरेको स्पष्ट देखिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top